सरोज बस्नेत
२०८४ मा हुने स्थानीय तथा प्रदेशसभा निर्वाचनको चर्चा विस्तारै उर्लाबारीका चिया पसलदेखि चौतारीसम्म पुग्न थालेको छ । निर्वाचनको मिति आउन अझै समय बाँकी भए पनि अबको नेतृत्व कस्तो हुनुपर्छ, कसले उम्मेदवारी देला र कसले नगर तथा प्रदेशको नेतृत्व सम्हाल्न सक्ला भन्ने चियोचासो बढ्दै गएको छ । मेयरदेखि उपमेयर, वडाध्यक्षदेखि प्रदेशसभा सदस्यसम्म सम्भावित उम्मेदवारबारे राजनीतिक वृत्तमा बहस सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीदेखि राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टीसम्म आ–आफ्नै तयारीमा देखिन्छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टीलगायतका दल पनि उर्लाबारीमा आफ्नो संगठन बलियो बनाउने र आगामी निर्वाचनका लागि जनमत तयार गर्ने प्रयासमा छन् । अन्य राजनीतिक दल तथा स्वतन्त्र व्यक्तिहरू पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा आउन थालेका छन् । दलहरूले औपचारिक रूपमा उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेका छैनन् । तर आकांक्षीहरूको दौड भने भित्रभित्रै सुरु भइसकेको देखिन्छ । विशेषगरी नेपाली कांग्रेसभित्र सम्भावित उम्मेदवारको संख्या धेरै देखिन्छ । स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिन चाहनेहरूको चासो पनि कम छैन । यसले आगामी निर्वाचनमा पार्टीभन्दा व्यक्तिको छवि, क्षमता र जनसम्बन्धले समेत महत्वपूर्ण भूमिका खेल्ने संकेत गरेको छ । तर प्रश्न उम्मेदवार को बन्ने भन्ने मात्र होइन । उर्लाबारीलाई कस्तो नेतृत्व चाहिएको छ ? यो प्रश्न अहिलेको बहसको केन्द्रमा हुनुपर्छ ।
उर्लाबारीलाई अब भाषण गर्नेभन्दा काम गरेर देखाउने जनप्रतिनिधि आवश्यक छ । चुनावको समयमा घरदैलो गर्ने, आश्वासन बाँड्ने र निर्वाचित भएपछि पाँच वर्षको अधिकांश समय विकासका योजना र जनताको गुनासोभन्दा राजनीतिक स्वार्थमा अल्झिने प्रवृत्तिबाट नगरले मुक्ति पाउनुपर्छ । अबको उम्मेदवारसँग स्पष्ट भिजन हुनुपर्छ । उर्लाबारीलाई कस्तो नगर बनाउने भन्ने स्पष्ट खाका हुनुपर्छ । शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, व्यापार, पर्यटन, रोजगारी, सडक, खानेपानी, ढल निकास, नदी नियन्त्रण, फोहोर व्यवस्थापन र व्यवस्थित शहरीकरणका विषयमा ठोस योजना हुनुपर्छ ।
उर्लाबारीको विकास सडक र नाली निर्माणमा सीमित हुनु हुँदैन । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, युवालाई आफ्नै ठाउँमा रोजगारी र उद्यमको अवसर सिर्जना गर्ने, कृषि तथा पशुपालनलाई आधुनिक बनाउने र निजी क्षेत्रसँग सहकार्य गर्दै लगानी भित्र्याउने नेतृत्व आवश्यक छ । त्यसैगरी, उर्लाबारीको प्राकृतिक तथा सांस्कृतिक सम्भावनालाई पर्यटनसँग जोड्न सक्ने सोच पनि अबको नेतृत्वमा हुनुपर्छ । नगरका नदी, वन क्षेत्र, धार्मिक तथा पर्यटकीय स्थललाई संरक्षण गर्दै आर्थिक गतिविधिको केन्द्र बनाउन सक्ने क्षमता भएको जनप्रतिनिधि आजको आवश्यकता हो ।
सबैभन्दा महत्वपूर्ण कुरा, अबको जनप्रतिनिधि जनतासँग जवाफदेही हुनुपर्छ । बजेट कहाँ खर्च भयो ? कुन योजना किन छनोट भया े? कामको गुणस्तर कस्तो छ ? नगरको आम्दानी र खर्चको अवस्था के छ ? यस्ता प्रश्नको जवाफ जनताले सहज रूपमा पाउने व्यवस्था हुनुपर्छ । राजनीतिक दलको टिकट पाउनु मात्रै उम्मेदवार योग्य हुनुको प्रमाण होइन । उम्मेदवारको व्यक्तिगत इमान्दारिता, विगतको काम, सार्वजनिक जीवनको पारदर्शिता, नेतृत्व क्षमता, अध्ययनशीलता र जनताप्रतिको व्यवहार पनि मूल्यांकनको आधार बन्नुपर्छ । अब उर्लाबारीका मतदाताले पनि एउटा प्रश्न गर्नुपर्ने बेला आएको छ—‘हाम्रो मान्छे को हो ?’ भन्दा ‘हाम्रो नगर बनाउन सक्ने मान्छे को हो ?’
२०८४ को निर्वाचन नयाँ अनुहार छान्ने अवसर नहोस् । यो उर्लाबारीको भविष्यको दिशा तय गर्ने अवसर बनोस् । दलहरूले पनि लोकप्रियताको आधारमा मात्र होइन, क्षमता र दृष्टिकोणका आधारमा उम्मेदवार अघि सार्न सक्नुपर्छ । मतदाताले पनि नारा, झण्डा र पार्टीभन्दा माथि उठेर उम्मेदवारको योजना, चरित्र र विगतको काम हेर्नुपर्छ । उर्लाबारीलाई अब त्यस्तो नेतृत्व चाहिएको छ, जसले चुनाव जितेपछि जनतालाई खोज्न नपरोस्, जनताले नेतृत्व खोज्नुपरोस् । जसले पाँच वर्षको कार्यकाललाई पदको सुविधा होइन, अवसर र जिम्मेवारीका रूपमा बुझोस् । उर्लाबारी बनाउने सपना सबैले देखेका छन् । अब त्यो सपना पूरा गर्ने स्पष्ट दृष्टिकोण, इमानदार इच्छाशक्ति र काम गर्ने क्षमता भएको जनप्रतिनिधि रोज्ने बेला आउँदैछ ।























