कुमार दाहाल
वर्षौँदेखि राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेथिति, दण्डहीनता, कमजोर सार्वजनिक सेवा र रोजगारीका सीमित अवसरका कारण नेपाली नागरिकमा निराशा बढ्दै गएको छ । विशेषगरी देशको भविष्य बोकेर अगाडि बढ्नुपर्ने युवापुस्तामा आफ्नो देशप्रतिको भरोसा कमजोर हुँदै गएको देखिन्छ । ठूलो संख्यामा युवा रोजगारी, शिक्षा र भविष्यको खोजीमा विदेशिन बाध्य छन् । देशभित्र बसेर केही गरौँ भन्ने चाहना हुँदाहुँदै पनि प्रणालीप्रतिको अविश्वासले उनीहरूलाई निराश बनाइरहेको छ ।
यस्तो अवस्थामा बनेको वर्तमान सरकारप्रति जनताको आशा र अपेक्षा स्वाभाविक रूपमा धेरै ठूलो छ । त्यसैले मेरो बुझाइमा यो सरकारलाई असफल हुने छुट छैन । सरकारको सफलता वा असफलता कुनै एउटा दल, नेता वा समूहको मात्र विषय होइन । यो देशमा परिवर्तन सम्भव छ भन्ने आम नागरिकको विश्वाससँग जोडिएको विषय हो । अझ महत्वपूर्ण कुरा, यो विषय आजका नागरिकको मात्र होइन, हाम्रा भावी सन्ततिको भविष्यसँग समेत जोडिएको छ ।
यो सरकार आम नागरिकहरुको आशा र भरोसाको अन्तिम अवसर हो । त्यसैले यस्तो आशा र भरोसालाई अब निराशामा परिणत हुन दिनुहँुदैन । नेपालमा पटक–पटक सरकार परिवर्तन भए । राजनीतिक दल र नेतृत्व परिवर्तन भए । घोषणापत्र र प्रतिबद्धताहरू फेरिए । तर आम नागरिकको जीवनमा अझसम्म अपेक्षित परिवर्तन भने पर्याप्त रूपमा आउन सकेको छैन । हरेक निर्वाचनमा नागरिकले नयाँ आशा बोके । नयाँ नेतृत्वलाई अवसर दिए । परिवर्तनको सपना देखे । तर केही समयपछि पुरानै समस्या दोहोरिए । यही निरन्तरताले गर्दा आज धेरै नागरिकको मनमा एउटा गम्भीर प्रश्न उब्जिएको छ— अब नेपाल कहिल्यै बन्दैन त ? सरकारको असफलताको असर विशेषगरी युवापुस्तामा गम्भीर हुन सक्छ । आजको युवा पुस्ता परिवर्तन चाहन्छ । ऊ पारदर्शिता चाहन्छ । ऊ भ्रष्टाचारबाट मुक्ति चाहन्छ । उसले राज्यबाट सहज सेवा, गुणस्तरीय शिक्षा, राम्रो स्वास्थ्य सेवा, रोजगारी र सम्मानजनक जीवन चाहन्छ । तर यदि उसले फेरि पनि त्यही निराशा मात्र पायो भने समस्या केवल एउटा सरकारको असफलतामा सीमित रहने छैन । यसले सम्पूर्ण राजनीतिक प्रणालीप्रतिको विश्वास कमजोर बन्न सक्छ । त्यसैले अहिलेको सरकारलाई सफल बनाउनु भनेको कुनै दल विशेषलाई सफल बनाउनु मात्र होइन, देशमा परिवर्तन सम्भव छ भन्ने विश्वासलाई जीवित राख्नु पनि हो । आज राजनीतिक रूपमा सरकारको विरोध गर्नेहरू धेरै छन् । लोकतन्त्रमा सरकारको आलोचना हुनु स्वाभाविक मात्र होइन, आवश्यक पनि हो । सरकारका गलत निर्णय, कमजोरी, अनियमितता वा जनविरोधी कामको आलोचना गर्न नागरिक र प्रतिपक्षलाई पूर्ण अधिकार छ । तर एउटा प्रश्न हामी सबैले आफैँलाई सोध्न आवश्यक छ । के सरकार असफल होस् भन्ने चाहना र सरकारका गलत कामको आलोचना गर्नु एउटै कुरा हो त ? पक्कै पनि होइन । सरकारले गल्ती गरेमा प्रश्न उठाउनुपर्छ । कमजोरी भए सुधारका लागि दबाब दिनुपर्छ । गलत काम भए त्यसको विरोध गर्नुपर्छ । भ्रष्टाचार वा अनियमितता भए छानबिन र कारबाहीको माग गर्नुपर्छ ।
कुनै दल विशेषको एकोहोरो विरोधका कारण सरकारले सहज रुपमा काम गर्ने वातावरण नपाउदा त्यसबाट अन्ततः राजनीतिक दललाई भन्दा बढी क्षति देश र नागरिकलाई नै हुन्छ । सरकार असफल भयो भने त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्छ । विकासका काम प्रभावित हुन्छन् । प्रशासनिक संयन्त्रमा अन्योल बढ्छ । लगानीकर्ताको विश्वास कमजोर हुन्छ । रोजगारीका अवसर प्रभावित हुन्छन् । र, सबैभन्दा ठूलो कुरा नागरिकको आशा र विश्वास कमजोर हुन्छ । हामीले विगतमा राजनीतिक अस्थिरताको सबैभन्दा ठूलो मूल्य आम नागरिकले नै चुकाएको पटक–पटक देखिसकेका छौँ । त्यसैले हामी सरकार सफल हुँदा एउटा दललाई मात्र फाइदा हुन्छ र सरकार असफल हुँदा अर्को दललाई मात्र फाइदा हुन्छ भन्ने सोचबाट माथि उठ्न जरुरी छ । सरकारको विरोध गरौँ, तर रचनात्मक विरोध गरौँ । सरकारका हरेक कामलाई सही भन्नुपर्छ भन्ने होइन । बरु सरकारलाई अझ राम्रो काम गर्न बाध्य बनाउने गरी प्रतिपक्ष, नागरिक समाज, सञ्चारमाध्यम, बुद्धिजीवी र आम नागरिकले निरन्तर प्रश्न गर्नुपर्छ । तर, विरोधको पनि एउटा सीमा र जिम्मेवारी हुन्छ । विरोधका लागि विरोध होइन, सुधारका लागि विरोध गरौँ। सरकारले कुनै काम गलत गर्यो भने त्यसको विकल्प पनि प्रस्तुत गरौँ। कुनै नीति कमजोर छ भने त्यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने सुझाव दिऔँ । कुनै योजना व्यवहारिक छैन भने त्यसको व्यवहारिक विकल्प खोजौँ ।
अनावश्यक भ्रम फैलाउने, सानो विषयलाई ठूलो बनाएर प्रस्तुत गर्ने, अपुष्ट सूचना फैलाउने वा सरकारलाई हरेक विषयमा असफल देखाउने प्रयत्नले अन्ततः सरकारलाई भन्दा बढी समाजलाई नै कमजोर बनाउँछ । आज सामाजिक सञ्जालको प्रभाव अत्यन्त ठूलो छ । एउटा अपुष्ट सूचना केही मिनेटमै हजारौँ मानिससम्म पुग्न सक्छ । त्यसैले राजनीतिक दल, नेता, समर्थक र नागरिक सबैले आफ्नो अभिव्यक्तिप्रति जिम्मेवार बन्न आवश्यक छ । तिललाई पहाड बनाउने होइन, पहाडजस्तो समस्यालाई समाधान गर्ने प्रयास गरौँ । ३५ वर्षको समस्या १–२ वर्षमा समाधान हुन्छ भन्ने अपेक्षा नगरौँ । किनकि नेपालका समस्या आज सिर्जना भएका होइनन् । दशकौँदेखि थुप्रिएका समस्या हुन् ।
राजनीतिक अस्थिरता, कमजोर संस्थागत क्षमता, बेरोजगारी, भ्रष्टाचार, कमजोर पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती, उत्पादनमा कमी, आयातमा निर्भरता, प्रशासनिक जटिलता लगायतका समस्या लामो समयदेखि जम्मा हुँदै आएका हुन् । त्यसैले यस्ता समस्या केही महिनामा वा दुई–चार वर्षमै पूर्ण रूपमा समाधान हुन्छन् भन्ने अपेक्षा गर्नु व्यवहारिक हुँदैन । सरकारले जनताको जीवनमा परिवर्तन ल्याउने आधार तयार गर्नुपर्छ । संस्थाहरू बलियो बनाउनुपर्छ । सुशासनको संस्कृति विकास गर्नुपर्छ । भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्छ। शिक्षा र स्वास्थ्यमा दीर्घकालीन सुधार सुरु गर्नुपर्छ । उत्पादन र रोजगारी बढाउने वातावरण बनाउनुपर्छ । यी कामको परिणाम क्रमशः देखिँदै जाने हो । त्यसैले सरकारलाई काम गर्न दिऔँ बिरोधको लागि बिरोध नगरौ । हामीले सरकारलाई आलोचना गर्न पाउनुपर्छ, तर आलोचना तथ्यमा आधारित हुनुपर्छ । सरकारलाई प्रश्न गर्न पाउनुपर्छ, तर प्रश्न समाधानमुखी हुनुपर्छ ।
सरकारले राम्रो काम गर्यो भने खुलेर प्रशंसा गरौँ । गलत काम गर्यो भने खुलेर प्रश्न गरौँ । कमजोरी देखियो भने सुधारको बाटो देखाऔँ । देश निर्माणमा सरकारको जति भुमिका हुन्छ हामी नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । हामी कर तिर्ने कुरामा जिम्मेवार छौँ कि छैनौँ ? सार्वजनिक सम्पत्तिको संरक्षण गर्छौँ कि गर्दैनौँ ? भ्रष्टाचारमा आफ्नो भूमिका शून्य राख्न सक्छौँ कि सक्दैनौँ ? नियम पालना गर्छौँ कि गर्दैनौँ ? आफ्नो काम इमानदारीपूर्वक गर्छौँ कि गर्दैनौँ ? यी र यस्ता प्रश्नहरु पनि देश निर्माणकै प्रश्नहरु हुन् । सरकारले मात्र भ्रष्टाचार अन्त्य गर्न सक्दैन । भ्रष्टाचारको संस्कृतिलाई समाजले पनि अस्वीकार गर्नुपर्छ। सरकारले मात्र सुशासन स्थापना गर्न सक्दैन। नागरिकले पनि नियम, कानुन र जिम्मेवारीलाई सम्मान गर्नुपर्छ। सरकारले मात्र रोजगारी सिर्जना गर्न सक्दैन । रोजगारी सृजनामा सहयोग गर्न निजी क्षेत्र, उद्योगी, व्यवसायी, श्रमिक, लगानीकर्ता र नागरिक सबैको सहभागिता आवश्यक हुन्छ ।
त्यसैले देश बनाउने अभियानमा सरकार र नागरिकबीच सहकार्य आवश्यक छ । हामीले आजको राजनीति भन्दा माथि उठेर भोलिको नेपाल सोच्नु पर्छ । तर हाम्रो एउटा कमजोरी भनेको हामी तत्कालीन राजनीतिक लाभ र हानिमा धेरै केन्द्रित हुन्छौँ । कुन दलले जित्यो ? वा कुन दलले हार्यो ? भन्दा पनि ठूलो प्रश्न हो—नेपाल कहाँ पुग्यो ? हाम्रा छोराछोरीले भोलि कस्तो नेपाल पाउनेछन् ? उनीहरूले गुणस्तरीय शिक्षा पाउनेछन् कि पाउने छैनन् ?
उपचारका लागि विदेश जानुपर्ने अवस्था अन्त्य होला कि नहोला ? देशभित्रै सम्मानजनक रोजगारी पाउने वातावरण बन्ला कि नबन्ला ? भ्रष्टाचारका कारण आफ्नो अधिकारका लागि संघर्ष गर्नुपर्ने अवस्था अन्त्य होला कि नहोला ? यी प्रश्नको उत्तर खोज्नु नै आजको वास्तविक राजनीति हो । देश बन्यो भने सबैको जित हुन्छ । नेपाल विकसित भयो भने त्यसको लाभ कुनै एउटा दलका कार्यकर्ताले मात्र पाउने होइनन् । देशमा सुशासन स्थापित भयो भने त्यसको लाभ सबै नागरिकले पाउँछन् । शिक्षा राम्रो भयो भने सबैका छोराछोरीले अवसर पाउँछन् । स्वास्थ्य सेवा सुधार भयो भने धनी र गरिब दुवैलाई लाभ हुन्छ। रोजगारी बढ्यो भने युवाले देशमै भविष्य खोज्न सक्छन् । उद्योग बढे अर्थतन्त्र बलियो हुन्छ । उत्पादन बढे आयातमा निर्भरता घट्छ। लगानी बढे रोजगारी सिर्जना हुन्छ । कानुनी शासन बलियो भए नागरिकको अधिकार सुरक्षित हुन्छ ।
त्यसैले आजको आवश्यकता राजनीतिक ध्रुवीकरण बढाउनु होइन, देश निर्माणका न्यूनतम साझा एजेन्डामा सहमति खोज्नु हो । राजनीतिक प्रतिस्पर्धा गरौँ, तर देशलाई दाउमा नराखौँ । राजनीतिक प्रतिस्पर्धाको नाममा देशलाई कमजोर बनाउने काम हामी कसैले नगरौ । सरकारको आलोचना गरौँ, तर देशको हितलाई केन्द्रमा राखेर गरौँ । सरकारलाई सुझाव दिऔँ, तर राजनीतिक स्वार्थभन्दा माथि उठेर दिऔँ । सरकारको कमजोरी देखाऔँ, तर समाधानको बाटो पनि देखाऔँ । नेपालमा समस्या धेरै छन् । तर सम्भावना पनि कम छैन। हामीसँग प्राकृतिक स्रोत छन् । मेहनती युवा जनशक्ति छ । उद्यमशीलता छ । कृषि, पर्यटन, जलविद्युत्, सूचना प्रविधि लगायतका क्षेत्रमा ठूलो सम्भावना छ । यदि सहि निति, इमानदार नेतृत्व पायौं अनि देशमा राजनीतिक स्थिरता र सुशासन कायम भयो भने देश बन्न समय लाग्दैन । त्यसैले अब हामीले “नेपाल बन्दैन” भन्ने मानसिकता त्याग्नुपर्छ । नेपाल बन्छ—तर त्यसका लागि हामी सबैले योगदान गर्नुपर्छ । हामी सबैको सामूहिक प्रयासबाट मात्र देश परिवर्तन सम्भव हुन्छ । अहिले नै सरकारको हरेक कदमलाई राजनीतिक चस्माबाट मात्र हेर्नुभन्दा केही समय काम गर्न दिऔँ । परिणाम हेर्न दिऔँ । आवश्यक ठाउँमा प्रश्न गरौँ । कमजोरी भए सुधारका लागि दबाब दिऔँ । सरकार सफल भयो भने देश सफल हुन्छ भन्ने कुरा पनि बुझौँ । सरकार सफल हुनु भनेको कुनै दल विशेषको स्थायी विजय होइन । यो नागरिकको आशाको विजय हो । तर, सरकार असफल हुनु भनेको कुनै दल विशेषको मात्र हार होइन । यो नागरिकहरुको विश्वासको हार हो, भावी पुस्ताको भाग्य र भबिस्यको हार हो ।
अन्त्यमा, हामीलाई समृद्ध नेपाल चाहिएको छ । हामीलाई सुशासन चाहिएको छ। हामीलाई भ्रष्टाचारमुक्त शासन व्यवस्था चाहिएको छ । हामीलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य चाहिएको छ । हामीलाई युवाले स्वदेशमै भविष्य देख्न सक्ने नेपाल चाहिएको छ । हामीलाई हाम्रा छोराछोरीले गर्वका साथ “म नेपाली हुँ” भन्न सक्ने नेपाल चाहिएको छ । जब नेपाल विकसित र समृद्ध बन्छ, जब सुशासन संस्थागत हुन्छ, जब शिक्षा, स्वास्थ्य र रोजगारीमा उल्लेखनीय सुधार आउँछ, जब नेपाली युवाले आफ्नै देशमा आफ्नो भविष्य देख्न थाल्छन्—त्यसपछि पनि राजनीति गर्न समय हुनेछ । देश बन्छ । देश बन्नैपर्छ । र, देश बनाउने जिम्मेवारी हामी सबैको हो । धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय