नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले सोमबार पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी त्याग गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको आमनिर्वाचनको सम्मुखमा नेता खतिवडाले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी त्याग गरे । नेकपा एमालेको विद्यार्थी संगठनमा आवद्धभएर आजभन्दा ३२ वर्षअघिदेखि निरन्तर राजनीतिमा सक्रिय खतिवडा मोरङ एमालेमा बौद्धिक नेताको रुपमा चिनिन्छन् । पार्टीमा संगठन विभाग, स्कुल विभाग र प्रशिक्षण विभागमा रहेर काम गरिसकेका खतिवडाले निष्ठावान, इमान्दार र आलोचनात्मक चेत भएका नेताको रुपमा आफ्नो छवि बनाएका थिए । २०६२÷६३ सालको जनआन्दोलनको समयमा यातना पाएको र घाइते भई राष्ट्रले सम्मान गरेका व्यक्ति पनि हुन् उनी । पार्टीका लागि महत्वपूर्ण मानिएको आम निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको जिल्ला सचिव जस्तो जिम्मेवारीमा रहेका नेताले पार्टी छोड्नु पर्ने परिस्थिति र अन्य प्रसंगमा नेता खतिवडासँग हाम्रोमत दैनिकका लागि गोकुल पराजुलीले गरेको कुराकानी :

नेकपा एमालेको सचिवको जिम्मेवारीमा रहँदारहँदै अचानक किन पार्टी छोड्नु भयो ?

मैले पार्टी छोडेको भन्दापनि पार्टीले मलाई छोडेको हो कि भनेजस्तो मैले अनुभूत गरेको छु । विद्यार्थीकालदेखिनै अनेरास्ववियु हुँदै पार्टी राजनीतिमा संलग्न भएँ । करिव ३२ वर्ष संगठित जीवन बिताएँ । जतिबेला पार्टीमा लागें त्यतिबेला गाउँ समाज विकृति विसंगति र विभेदबाट आक्रान्त थियो । सामन्तवादको दुष्चक्र सबैतिर व्याप्त थियो । त्यसैले जानिबुझी कम्युनिष्ट आन्दोलनको माध्यमबाट मात्र परिवर्तन गर्न सकिन्छ भन्ने निष्कर्शसहित राजनीतिमा सहभागी भएको हुँ । यस अवधिमा अनेरास्ववियुको केन्द्रीय प्रशिक्षक, शैक्षिक विभाग प्रमुख, नेकपाकालमा मोरङको स्कुल विभागको प्रमुख, जनसंगठनको प्रमुख जस्ता थुप्रै जिम्मेवारीहरु निर्वाह गरें । पार्टीमा वैचारिक कार्यकर्ता उत्पादन गर्ने र त्यसको बलबाट कम्युनिष्ट आन्दोलनलाई संगठित गर्दै समाजवादमा जाने हाम्रो लक्ष्य थियो । तर, समय बित्दैजाँदा सुरुमा हामीले बुझेको, पढेको, देखेको कुरा अहिले नेताहरुले गर्ने व्यवहार, पार्टीले गर्ने निर्णय र निर्णय प्रक्रिया ठीक विपरीत हुँदै गयो । अहिले नेता र कार्यकर्ताहरुमा सजिलो बाटो हिड्न खोज्ने प्रवृत्ति छ । माथिबाट जे निर्णय गर्यो त्यो शीरोपर गरेर हिड्ने, प्रश्न नगर्ने, छलफल नगर्ने, सजिलो बाटो मात्र रुचाउने प्रवृत्ति नेता, कार्यकर्ता र कमिटी प्रणालीमा बढ्दै गयो । पानीलाई ओह्रालोतर्फ लैजान कुनै मिहिनेत गर्नुपर्दैन, उकालोमा लैजान निकै मिहिनेत गर्नुपर्छ । अहिले नेता र कार्यकर्ताहरु त्यही सजिलो बाटो हिड्न थालेका छन् । उकालो हिड्ने प्रयत्न नगर्ने र ओह्रालो यात्रामा रमाउने यथास्थितिवादी प्रवृत्तिले पार्टीलाई लक्ष्यमा डोहो¥याइरहेको छैन । नीति, सिद्धान्त, कार्यक्रम पढ्दा पहिलेको जस्तै छ, तर व्यवहार नितान्त विपरीत छ ।

हामीले हिजो जसलाई बुर्जुवा, प्रतिक्रियावादी र दक्षिणपन्थी भन्थ्यौं अहिले हामी उनीहरुसँगै मिलेर हिडरहेका छौं । हामीले बुर्जुवा र दक्षिणपन्थी भनेका नेताहरु र हाम्रा नेताहरुमा कुनै भिन्नता पाइदैन । यो समस्या एमालेमा मात्र होइन नेपालका सबै कम्युनिष्ट पार्टीहरुमा देखिएको छ । नीति, सिद्धान्त, विधि, प्रणाली र आदर्शमा विश्वास राख्नेहरु अहिले सबैतिर अल्पमतमा परेका छन् । त्यसैले पार्टी छोड्ने, फुट्ने, नयाँ पार्टी खोल्ने र फेरि प्रयत्न गर्ने जस्ता कामहरु भइरहेका छन् । त्यसले कतिपय इमान्दार कार्यकर्ताहरुलाई निराश बनाइरहेको पनि छ । यसको मुख्य कारण व्यवहार र सिद्धान्तकाबीचमा तालमेल नहुुनु हो । पार्टीभित्र लोकतन्त्र स्थापित गर्न नेता र कार्यकर्ताले प्रयत्न गर्न छोडेका छन् । त्यसले आन्तरिक लोकतन्त्र अत्यन्त कमजोरब नेको छ । पार्टीको पार्टीको अध्यक्षले जे भन्यो त्यसलाई निर्णय मन्ने, हो मा हो मिलाएर जाने र त्यसबाट अवसर लिने प्रवृत्ति पार्टीमा बढ्दो छ । जसलाई त्यो कुरामा मजा लाग्छ, उनीहरु त्यही बस्छन् । जसलाई त्यसमा मजा लाग्दैन, त्यो गलत हो भन्ने लाग्छ र सुधार गरौं, सामुहिक प्रणालीबाट चलौं, पार्टीलाई नीति, सिद्धान्त र विधिबाट चलाऔं भन्नेहरु बस्न सकिरहेका छैनन् । यस पटक मैले त्यही कुरालाई अगाडि सारेको हुँ । र, सुधार गर्न नसकेपछि पार्टी परित्याग गर्ने निर्णयमा पुगेको हुँ ।

तपाईँको यो विद्रोह वा असन्तोष नेतासँग हो कि पार्टीसँग ?

मैले दुवैतिरबाट यसलाई हेरेको छु । पार्टीको नीति, विधि, पद्दति र प्रक्रियाको कुरालाई पनि वेवास्ता गर्ने गरिएको छ । व्यक्तिवादी अराजकता अहिले हावी भएको छ । मैले जे सोच्छु र जे गर्छु त्यो सबैले मान्नु पर्छ भन्ने मान्यता बढेको छ । विधि, प्रक्रिया र पद्दतिबाट होइन व्यक्तिले गर्ने फर्मान सबैले लुरुलुरु मानेर हिड्नु पर्ने अवस्था बनाइएको छ । विधि, पद्दत्ति र प्रक्रियासँग कुनै मतलब नहुने कुरा कसरी स्वीकार्न सकिन्छ ? पार्टीले गर्ने निर्णय कमिटीलाई जानकारी नहुने र कुनै व्यक्तिले मुखले भनेकै भरमा स्वीकार गरेर हिड्ने कुरा कम्युनिष्ट पार्टीमा कसरी सम्भव हुन्छ ? मैले निर्णयलाई विधिसम्मत बनाउँ भनें त्यो सुनिएन । सुधार्ने कुनै प्रयत्न गरिएन । यस पटक नेकपा एमालेले हाम्रो जिल्लामा उम्मेदवार छनौट गर्दा पार्टी प्रणालीलाई पूर्णरुपमा वेवास्ता ग¥यो । कमिटीले जानकारी नपाउँदै तलतल उम्मेदवार बनिसकेका थिए । त्यो कुरा पार्टी अध्यक्षबाहेक उपाध्यक्ष, सचिव र सिंगो कमिटीलाई जानकारी दिइएन । यसरी गलत परिपाटिबाट भएका निर्णयले भोलि सकारात्मक परिणाम आउन सम्भव थिएन र छैन । त्यसैले यस्तो गलत प्रवृत्तिबाट आउने नकारात्मक परिणामको भागिदार बन्नु हुँदैन भनेर मैले नितान्त फरक निर्णय लिएँ ।

एउटा राजनीतिक कार्यकर्ता र सक्रिय राजनीतिज्ञका लागि जस अपजसको विषयले त्यति ठूलो निर्णयमा पुग्ने कुरा कत्ति जायज हुन्छ ?

यो कुरा व्यक्ति व्यक्तिमा भरपर्छ । जो इमान र निष्ठाका साथ पार्टीमा लागेको छ र निश्चित जिम्मेवारी निर्वाह गरिरहेको हुन्छ, उसले परिणामको चिन्ता गर्छ । जिम्मेवारीमा रहेका कारण गरेका निर्णयहरुबाट आउने परिणामको भागिदार बन्न तयार हुन्छ । विशेषगरी कमिटीका सिंगो पदाधिकारी त्यसको भागिदार बन्नुपर्छ भनेर सोच्छ । त्यसमा पनि भोलीको परिणामलाई लिएर सचिव जस्तो कार्यकारी भूमिकामा रहेको व्यक्तिलाई पार्टी कमिटीमा जवाफदेही नबनाउने भन्ने कुरै हुँदैन । तर, जसलाई पार्टी पद्दति, विधि र प्रक्रियासँग कुनै मतलब छैन, फर्मानमा चल्छ र आफ्नो लाभ लिने विषयलाई प्राथमिकतामा राख्छ उसलाई यस्ता कुराको कुनै मतलब हुँदैन, एउटा कानले सुन्छ अर्को कानले उडाउँछ ।

तपाईंले पार्टी त्याग गर्दा गलत समय पो रोज्नु भयो कि ? चुनावको समयमा यसले पार्ने असरको बारेमा ध्यान किन दिनुभएन ?

यो विषय सबैले ठीक ढंगले बुझिदिनुपर्छ । पार्टी गलत बाटोबाट चलिरहेको, निर्णय प्रक्रिया ठीक ढंगले नचलिरहेको बेलामा हामीले गरेको निर्णयबाट सही परिणाम आउँदैन भन्ने कुरा मैले झल्झल्ती देखिरहेको थिएँ । अनि विधि विपरीत भएका निर्णय सच्याउँ र विधि सम्मत बनाउन बैठक बसेर एउटा निष्कर्शमा पुगौं भन्ने प्रस्ताव मैले राखें । तर, त्यमा नेताहरुले कुनै चासो देखाउनुभएन । सिंगो नेतृत्वले मेरो प्रस्तावलाई इग्नोर गरेपछि मैले पदबाट राजीनामा दिएँ । राजीनामा दिएपछिको अवधिमा पनि नेताहरुले मसँग कुनै छलफल गर्नुपर्ने आवश्यकता ठान्नुभएन । जसले गल्ती ग¥यो उसलाई अझ प्रोत्साहन गर्ने गरी नेतृत्वले काम गरेको पाएँ । त्यसबाट मैले के बुझें भने त्यो पार्टीलाई अब मेरो आवश्यकता रहेनछ । हिजो आन्दोलनको बेलामा पार्टीलाई मेरो आवश्यकता थियो, आन्दोलनमा घाइते हुँदा पार्टीले सम्मान पनि गर्यो । तर, आज पार्टीलाई विचार, सिद्धान्त, निष्ठा र त्यागको आवश्यकता छैन । जोसँग पैसा छ उसले सजिलै पार्टीको जिम्मेवारी पाउने, उसैले चुनावमा टिकट पाउने अवस्था छ । हिजो हामी जसका विरुद्ध लड्यौं र हाम्रो आन्दोलनलाई जसले दबाउने प्रयत्न गरे तिनै गृहमन्त्रीलाई आज सूर्य चिन्हबाट उम्मेदवार बनाइएको छ । हामीले विखण्डनकारी शक्ति भनेको उपेन्द्र यादवहरुसँग एकाएक चुनावमा गठबन्धन गरिएको छ । रातारात यी सबै चिजहरु कसरी भइरहेका छन् ? कसले यो काम गरिरहेको छ ? के यी सबै कुराहरु पार्टीको निर्णय अनुसार छन् वा एक व्यक्तिले मनलाग्दी गरिरहेको छ ? आज आम कार्यकर्ताहरुले यो प्रश्न गरिरहेका छन् । यो जे भइरहेको छ गलत छ भन्ने मेरो ठम्याइ हो ।

यो एमालेमा मात्र होइन नेपालका सबै कम्युनिष्ट पार्टीहरुमा मौलाउदै गएको विकृत्ति हो । यसबाट निष्ठावान आमकम्युनिष्ट कार्यकर्ताहरु निराश भएका छन् । सक्नेले विद्रोह गरेका छन्, पार्टी छोडेका छन्, नसक्नेहरु त्यहीं खुम्चिएर बसेका छन्, तर नेताको गलत कदमको विरोध गर्न सकेका छैन । एक दिन यी समस्याहरु समाधान हुने विश्वास छ । यिनै परिस्थितिहरुबाटै म पनि गुज्रिए, गुज्रिनु प¥यो । ३२ वर्ष संगठित जीवन बिताएको मेरो प्यारो पार्टी त्याग गरें । त्यो पार्टी सुध्रियोस् भनेरै मैले छोडेको हो । किनभने पार्टीमा मौलाउँदै गएको गलत प्रवृत्ति हटाउन मेरो कदमले त्यहाँ भएका युवाहरुलाई प्रेरणा मिलोस् भनेर यस्तो निर्णय लिएको हुँ । मेरो कदमलाई उम्मेदवार नपाएर हो कि भन्ने भ्रम कसैलाई नरहोस् । यसलाई पार्टीका नेताहरुले पनि अध्ययनको विषय बनाउन् भन्ने मेरो आग्रह छ । म पद र अवसरका लागि यी सब काम गरिरहेको थिइन र छैन । ती चिजहरुबाट म पृथक छु । समय आएपछि सबै कुरा प्रष्ट हुँदै जानेछ ।

नेकपा एमालेले दिनहुँ नयाँ कार्यकर्ताहरु पार्टीमा प्रवेश गराइरहेको बेला तपाईंहरुले चाहिँ किन पार्टी छोड्नु परेको हो ?

अहिले नेपालमा पार्टी प्रवेशको कुरा हाँसीमजाकको विषय जस्तो बनेको छ । भन्नलाई विचार सिद्धान्त र नीति मनपराएर पार्टीहरुमा प्रवेश गरेको भन्ने गरिन्छ । तर, एउटै मानिस तीन पटकसम्म पार्टीमा प्रवेश गरेको थुप्रै उदाहरण छन् । मानिसहरुलाई राजनीतिक सुझबुझबाट नभएर कुनै ठेकेदारले आफू नेता बन्न पार्टीमा प्रवेश गराउने प्रचलन धेरै छ । आज एमालेमा एक लाख मानिस पार्टी प्रवेश गराउने भनेर अभियान चलाइएको छ । यसले पार्टीलाई बलियो बनाउँछ भन्ने मलाई कुनै विश्वास छैन । कसैलाई नेता बनाउन, कोही तुरुन्तै अवसर प्राप्त गर्न पार्टीमा प्रवेश गर्ने र गराउने काम भइरहेको छ । उनीहरुलाई पार्टीको नीति, सिद्धान्त र कार्यक्रम आदिबारे केही बुझाइएको छैन । त्यसरी आएका मानिसहरुको कुनै तथ्यांक राखिएको छैन । यो हिसाबले कुनै पार्टी बलियो हुँदैन बरु धराशायी बन्दै गएका जान्छन् ।

पार्टी त्याग गरेको वक्तव्यमा तपाईंले जिल्ला अध्यक्षको नामै उद्धृत गर्नुभयो, आज पनि उहाँको प्रसङ्ग झिक्नुभयो, असहमति जिल्लाका नेताहरुसँग हो वा केन्द्रको नीति र पद्दतिसँग ?

कुनै पनि घटनाका पछाडि धेरै कारणहरु हुन्छन् । पार्टी परित्याग आकस्मिक रुपमा भएको होइन । धेरै लामो सृङ्खलाबाट गुज्रिदै आउँदा संयोगले यो समय परेको हो । यस प्रकारको निर्णय आजको भोलि कसैले पनि गर्दैन । अझ ३२ वर्षदेखि योगदान गरेको मानिसले अचानक यस्तो निर्णय गर्ने कुरा पनि हुँदैन । त्यसैले यो कुनै दिन हुनुनै थियो अहिले भयो भनेर बुझ्नु पर्छ । त्यसैले मैले चुनावको सम्मुखमा नियोजित रुपमा यो निर्णय लिएको होइन । ठीकलाई ठीक र गलतलाई गलत भन्ने मेरो स्वभावले मोरङको राजनीतिमा यस्ता ो उत्तारचढाव भइरहेकै थियो । यसलाई कसैले अस्थिरताको रुपमा पनि लिने गरेकाछन् । मैले चाहिँ दास मानसिकताबाट माथि उठेर आलोचनात्मक चेतनाका साथ सकारात्मक र नकारात्मक रुपमा विषयवस्तुलाई हेर्नु पर्छ भन्ने मान्यतामा आधारित भएर यो निर्णयमा पुगेको हुँ ।

तपाईं पोलिटिकल एक्टर हुनुहुन्छ र ३२ वर्षदेखि संगठित राजनीति गर्नुभयो । अब चुनाव आउँदैछ । यो चुनावमा तपाईंको भूमिका के हुन्छ ?

मैले अघिनै भनें लामो सृङ्खला पार गरेर एमालेको राजनीति गरी यस ठाउँमा आइपुग्दा मैले पार्टी छोड्ने निष्कर्श निकालें । मेरो यो निष्कर्श केवल एमालेको हकमा मात्र होइन समकालीन कम्युनिष्ट पार्टीहरुको सवालमा पनि उस्तै निष्कर्श हो । हिजोसम्म भएमध्येको राम्रो पार्टी भनेर एमालेमा रहें । त्यो पार्टी मैले छोडेको छु । अहिले नै अरु कम्युनिष्ट पार्टी राम्रा छन् भनेर म कल्पना पनि गर्न सक्दिन । सबै उस्तै देखिन्छन् ।

अर्कोकुरा मैले जीवनभर सूर्य चिन्हमा मतदान गरें । यस पटकको चुनावमा के गर्ने भन्ने निष्कर्शमा पुगिसेकेको छैन । मंसिर ४ आउन बाँकी छ । त्यतिबेलासम्म म एउटा निष्कर्शमा पुग्नेछु । अब म गलतलाई प्रश्रय दिन सक्दिन । कुन सही र कुन गलत भन्ने निक्र्यौल गरिसकेको छैन । पाँचदलीय गठबन्धन केवल स्वार्थमा आधारित छ भने एमाले–जसपा गठबन्धन पनि सत्ता स्वार्थमा मात्र केन्द्रीत छ । त्यसैले भएका दलहरुको पक्षमा नभएर असल व्यक्ति छानेर मतदान गर्ने अवस्था हुनसक्छ । तर, एउटा कुरा निश्चित हो कि यस पटकको चुनावमा कुनै दलको अभियानमा, कसैको झण्डा बोकेर हिड्ने छैन ।

अन्त्यमा, तपाईं फेरि नेकपा एमालेमा फर्किने सम्भावना के छ ?

यो मेरो विषयभन्दा पनि कस्तो व्यक्तिको आवश्यकता छ भन्ने कुरा पार्टीको हो । मेरो त्यत्रो ठूलो चाहना छैन । पार्टीमा गइहाल्नुपर्छ, पदमा पुगिहाल्नु पर्छ भन्ने पक्षमा म छैन । जिम्मेवारी नहुँदा केही गर्न सकिदैन भन्ने मलाई लाग्दैन । पद बेगर पनि समाज र देशलाई मैले सेवा गर्न सक्छु भन्ने मेरो निष्कर्श हो । त्यसकारणले मलाई नै पार्टी चाहिन्छ भन्ने कुरा होइन, पार्टीलाई चाहिँ म चाहिन्छ कि चाहिदैन उसले जान्ने कुरा हो ।

हाम्रो मतबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!