निर्वाचन आयोगले आफू निर्वाचित भएको दल त्याग गरी अन्य दलमा प्रवेश गरेका ८ जना वडाध्यक्षहरुको पद रिक्त भएको घोषणा गरेको छ । आयोगले आज आइतबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै कोशी प्रदेशका ५ जनासहित देशभरका ८ वडाध्यक्षहरु पदमुक्त भएको जानकारी दिएको हो ।
आयोगको निर्णयअनुसार मोरङका दुई र ओखलढुङ्गाका तीन गरी कोशी प्रदेशका ५ जना जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । मोरङको रंगेली नगरपालिका–१ का वडाध्यक्ष महेश कुमार खनाल र लेटाङ नगरपालिका–४ का वडाध्यक्ष राम कुमार श्रेष्ठ पदमुक्त भएका हुन् । त्यसैगरी, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ का कमल बहादुर बानिया, सोही गाउँपालिकाको वडा नं. ६ का कमल तामाङ र चम्पादेवी गाउँपालिका–७ का सुरेश कुमार थापाको पद पनि रिक्त भएको छ ।
रिक्त भएका ८ वडाध्यक्षमध्ये ७ जना नेकपा एमालेबाट निर्वाचित भएका थिए । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२ बाट निर्वाचित वडाध्यक्ष भने नेपाली कांग्रेसबाट विजयी भई अन्य दलमा प्रवेश गरेका थिए । एमालेबाट निर्वाचित भई पद गुमाउने अन्यमा पाल्पाको माथागढी गाउँपालिका–१ का राज कुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका–७ का होमप्रसाद बजगाई र दाङको घोराही उपमहानगरपालिका–४ का मधुसुदन शर्मा रहेका छन् । ओखलढुङ्गाका दुई वडाध्यक्ष भने एमाले त्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेको बताइएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको विवरण सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराएपछि आयोगले पद रिक्तको निर्णय गरेको हो । आयोगको २०८१ जेठ २६ गतेको निर्णयअनुसार निजहरु निर्वाचित भएको पद स्वतः रिक्त भएको व्यहोरा सूचनामा उल्लेख छ । स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित यी जनप्रतिनिधिहरुले दल त्याग गरेसँगै अब ती वडाहरुमा वडाध्यक्षको पद खाली भएको छ ।























