उर्लाबारी । मोरङको बेलबारीमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। एन्जल फाउन्डेसन नेपाल र फरिस्ता क्लिनिक उर्लाबारीको प्राविधिक सहयोग तथा सौन्दर्य कृषि सहकारी संस्था लिमिटेड, बेलबारी–४ सखुवाटोलीको आयोजनामा शुक्रबार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
बेलबारीस्थित सामुदायिक नोवेल अस्पतालमा आयोजित शिविरमा वरिष्ठ सर्जन डा. सञ्जय रिमाल, डा. रोशन कुमार शाह र डा. ईशान वाग्ले लगायतका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए।
शिविरमा विशेषगरी पाइल्स, फिसर, फिस्टुला तथा मलद्वारसम्बन्धी क्यान्सरका बिरामीहरूको परीक्षण गरिएको थियो। कार्यक्रममा चार दर्जनभन्दा बढी सेवाग्राहीले विशेषज्ञ चिकित्सकबाट नि:शुल्क स्वास्थ्य परीक्षण र परामर्श सेवा प्राप्त गरेका आयोजकले जनाएको छ।
एन्जल फाउन्डेसन नेपालका प्रमुख कार्यकारी अधिकृत जयसिंह राजवंशीले ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिएका छन् ।उनले यस्ता स्वास्थ्य सचेतनामूलक तथा सेवामुखी कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति जागरण फैलाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
शिविरबाट लाभान्वित स्थानीयवासीहरूले विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका थिए।
आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै समुदायस्तरमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने जनाएको छ।























