उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका–१ खोलागाउँस्थित दुर्गादेवी आधारभूत विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको छ । मिक्लाजुङ–९ निवासी युवा समाजसेवी तथा व्यवसायी नवीन लामाको संयोजकत्वमा आयोजित कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्रीस्वरूप झोला प्रदान गरिएको हो । लामाको पहलमा यसअघि पनि मिक्लाजुङ–४ छत्रपुरस्थित सिर्जना आधारभूत विद्यालयका ३२ जना विद्यार्थीलाई झोला वितरण गरिएको थियो । शिक्षा, खानेपानी, खेलकुद तथा सामाजिक क्षेत्रमा समेत सक्रिय सहयोग गर्दै आउनुभएका लामाले विपन्न तथा आवश्यकतामा रहेका विद्यार्थीलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिँदै आउनुभएको छ । झोला वितरण कार्यक्रममा समाजसेबी मनोज सुवेदी, मानबहादुर राई, उत्तम खड्गी, आरती बराल, इन्दिरा बिष्ट बोहोरा, नवीन मगर, तुलसा लाखेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मिक्लाजुङ–१ का वडा सदस्य पासाङ तामाङ, विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता सामाजिक कार्यले विद्यार्थीलाई अध्ययनप्रति थप उत्साहित बनाउने विश्वास व्यक्त गरेका छन् ।























