पोखरा । नेपाली कांग्रेसका कार्यकर्ताले कास्कीमा अन्तर्घाती नेताको घर घेराउ गरेका छन् ।

बिहीबार साँझ कांग्रेसका कार्यकर्ताले पोखरा उप–महानगरपालिका–१३ बाँझापाटनस्थित पूर्व जिल्ला सभापति कृष्ण केसीको घर अगाडि अन्तर्घातीभन्दै कारबाहीको माग राखेर प्रदर्शन गरेका गरेका हुन् ।

कार्यकर्ताले केसीलाई कारबाहीको माग राखेर नारावाजी समेत गरेका छन् । कारबाही हुनु अगावै कांग्रेस छाड्न प्रदर्शनकारीले पूर्व सभापति केसीलाई चेतावनी दिएका छन् ।

कास्कीको निर्वाचन क्षेत्र नम्बर १ मा केसीको अन्तर्घातका कारण प्रतिनिधि सभाको चुनावमा पराजय बेहोर्नुपरेको भन्दै कांग्रेस कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । कांग्रेसका कार्यकर्ताहरूले पूर्व सभापति केसीले एमालेसँग ७० लाख रुपियाँ लिएर अन्तर्घात गरेको आरोप लगाएका छन् ।

कार्यकर्ताहरूले ‘अन्तर्घाती मुर्दावाद, कृष्ण केसी पार्टी छोड्’ भन्दै नाराबाजी गरेका छन् । कास्की–१ मा केसी प्रतिनिधिसभा सदस्य उम्मेदवारको आकांक्षी थिए । केसीको सट्टामा कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले टिकट पाएका थिए ।

आफूले टिकट नपाएपछि केसीले बराललाई असहयोग गर्दै आएका थिए । कास्की– १ मा बरालले एमालेका मनबहादुर गुरुङसँग प्रतिस्पर्धा गरिरहेका छन् । मतगणना भइरहँदा कांग्रेसका बराल पराजित हुने अवस्था देखिएपछि रिसाएका कार्यकर्ता पूर्व सभापति केसीको घर अगाडि गएर प्रदर्शन गरेका हुन् ।

कास्की–१ को प्रदेश सभा २ मा पनि कांग्रेसका दीपक गुरुङ ‘माइला’ पराजित भइसकेका छन् । दीपकलाई एमालेका बेदबहादुर गुरुङले हराएका हुन् । कास्की–१ को प्रदेश सभातर्फ १ मा पनि एमालेका खगराज अधिकारीले सत्ता गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार दीपक कोइरालालाई पछाडि पारेका छन् । कांग्रेसको प्रभाव क्षेत्र मानिएको वडामा सत्ता गठबन्धनका उम्मेदवारलाई मत नआएर हार्ने स्थिति हुनुमा पूर्व सभापति केसीले अन्तर्घात गरेका कारण रहेको आरोप कार्यकर्ताको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय