विराटनगर । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगाणना सम्पन्न गरि समानुपतिक तर्फको सिटको बाँडफाँड गर्दा प्रदेश १ मा ५ लाख ६२ हजार ९५६ मत प्राप्त गरेको नेपाली काँग्रेसले १२ सिट पाएको छ ।

२०७४ को निर्वाचनमा समानुपातिकतर्फ १३ सिट पाएको काँग्रेसले यसपटक प्रत्यक्षतर्फ दोब्बर बढि सिट प्राप्त गरेपनि समानुपातिकतर्फ एक सिट गुमाएको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ८ सिट मात्र जितेको काँग्रेसले यसपटक १७ सिट जितेको छ ।

काँग्रेसले अब दलको बैठकबाट यसअघि निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसुचीको क्रम अनुसार समावेशी आधारमा विजेताको नाम सिफारिस गर्नुपर्नेछ । काँग्रेसबाट प्रत्यक्षतर्फ कुनै पनि महिलाले चुनाब नजितेकोले समानुपातिकतर्फ पाएको १२ सिटमध्ये १० जना महिलालाई प्रदेशसभामा पठाउनुपर्नेछ ।

कानुन अनुसार प्रदेश १ मा समानुपातिक उम्मेदवार छनौट गर्दा आदिवासी जनजातितर्फ ४६.७९ प्रतिशत, खसआर्य २७.८४ प्रतिशत, दलित १०.०६ प्रतिशत, थारु ४.१५ प्रतिशत, मधेसी ७.५७ प्रतिशत, मुस्लिम ३.५९ प्रतिशत हुनुपर्नेछ । उनीहरुमध्ये १७.५३ प्रतिशत अल्पसंख्यक हुनुपर्छ ।

काँग्रेसले समानुपातिकतर्फ १२ सिटमध्ये २ पुरुष र १० महिलामा ६ जना आदिवासी जनजाति र ३ जना खसआर्यलाई पठाउनुपर्नेछ । यस्तै दलित, मधेशी र थारु १–१ जनाको प्रतिनिधत्व हुनेछ ।

काँग्रेसको समानुपातिक सुचीमा रहेकामध्ये पुरुषहरुतर्फ खसआर्यको पहिलो नम्बरमा रहेका झापाका उद्धब थापा प्रदेशसभा सदस्य बन्ने निश्चित छ । ६४ वर्षीय उनी काँग्रेस प्रदेश समितिका सभापति हुन् । काँग्रेसले पाउने अर्को पुरुष कोटामा झापाकै मोहन महर्जनको संभावना छ । ५२ वर्षीया काँग्रेस नेता २०६४ को जनआन्दोलनमा झापाका विद्यार्थी नेता राम थापाको मण्डलेहरुले हत्या गर्दा घाइते भएका थिए ।

महर्जनलाई प्रदेशसभामा पठाएमा काँग्रेसले आदिवासी जनजातितर्फ थप ५ महिलालाई प्रदेशसभामा पठाउनुपर्छ । पाँचथरकी ४४ वर्षीया मैंया श्रेष्ठ, सोलुखुम्बुकी ४० वर्षीया डोल्मा तामाङ, उदयपुरकी ६२ वर्षीया लिलाकुमारी राई, सुनसरीकी ४२ वर्षीया ममता मगर तामाङ र मोरङकी ४७ वर्षीया शोभा चेम्जोङ पालुङ्वा प्रदेशसभा सदस्य बन्नेछन् । पुरुषतर्फका महर्जनलाई काँग्रेसले प्रदेशसभामा नपठाएमा सुनसरीकी अनु गुरुङले अवसर पाउनेछन् ।

खसआर्यतर्फ पुरुषमा उद्धब थापालाई पठाएपछि काँग्रेसले थप २ महिला मात्र खसआर्यबाट प्रदेशसभामा पठाउनेछ । उनीहरु धनकुटाकी ५४ वर्षीया ईन्दिरा थापा र इलामकी ४९ वर्षीया खगेश्वरी पौडेल छन् । यदि उद्धब थापालाई प्रदेशसभामा काँग्रेसले नपठाएमा धनकुटाकी सुमना तिम्सिनाले अवसर पाउनेछिन् ।

काँग्रेसबाट दलित कोटामा सनुसरीकी ४२ वर्षीया सुनितकुमारी गुरुङ, थारु कोटामा सुनसरीकै ४२ वर्षीया सुनिता गच्छदार र मधेशी कोटामा झापाकी ४८ वर्षीय लखिकुमारी गणेश प्रदेशसभा सदस्य बन्नेछन् । काँग्रेसले २ जना अल्संख्यकलाई प्रदेशसभामा पठाउनुपर्नेमा झापाकी गणेश र सुनसरीकी गुरुङ अल्पसंख्यक रहेकोले त्यो कोटा पनि पुरा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय