उर्लाबारी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एबम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारका लोकप्रिय मन्त्री हुनुहुन्छ, सुदन किराती । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य किराती मुलुकको ४०औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्छ ।
पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा. हर्क गुरुङ पर्यटन राज्यमन्त्री हुनुभएको थियो त्यसयता मुलुकले ४० जना पर्यटनमन्त्री पाइसकेको छ । वि.सं. २०३५ साल फागुन १२ गते बाबु हर्कबहादुर राई र आमा रक्षाकुमारी राईको कोखबाट सुदन किरातीको जन्म भएको हो । बाबु बेलायत आर्मी भएकाले सुदनको जन्म हङकङमा भएको थियो । रामप्रसाद राई गाउँपालिका– १ भोजपुरका स्थायी बासिन्दा सुदनको विना राईसँग विवाह भएको हो, उहाँहरूका एक छोरा छन् । २०५४ सालमा सुदनले कम्युनिष्ट पार्टी (नेकपा माले) को सदस्यता लिनुभएको थियो ।
–२०४६ सालको प्रजातन्त्रसँगै नेकपा मालेको विद्यार्थी संगठनमा आबद्ध
–२०५० मा स्कुलमा अनेरास्ववियूको प्रारम्भिक कमिटी अध्यक्ष
–विभिन्न राजनीतिक मुद्दा व्यहोर्दै २०५५ मा तत्कालीन खम्बुवान राष्ट्रिय मोर्चामा संगठित
–२०५८ बाट पूर्णकालीन भूमिगत राजनीतिमा प्रवेश
–२०६१–६३ मा माओवादीसँग एकतासँगै सगरमाथा जनकपुर क्षेत्रीय व्यूरो सदस्य
–सेनाको व्यारेक र विभिन्न जेलको बसाई, शान्ति प्रक्रियापछि जेलमुक्त, जेल जीवन करिब २३ महिना
–मेची कोशी व्यूरो सदस्य तथा धनकुटा जिल्ला पार्टी सचिव, किराती राष्ट्रिय मुक्ति मोर्चा महासचिव, अध्यक्ष
–भोजपुर जिल्ला पार्टी अध्यक्षका साथै ०७३ बाट भोजपुर जिल्ला पार्टी इन्चार्ज तत्कालीन माओवादी केन्द्र
–२०७५ सालमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य
भूइँमान्छेको पहिचान बनाउनुभएका मन्त्री किराती स्थानीय परिभेषमा घुलमिल हुने र जनताको सुख दुःखमा साथसाथै रहने कार्यशैलीले जनतामाझ स्थापित हुनुभएको छ । सिधा र स्पष्ट कुरा राख्ने किराती राजनीतिमा पनि निकै काबिल हुनुहुन्छ । । राजनीतिक यात्रामा पदीय जिम्मेवारीको इमान्दारिता, संसदीय यात्रामा जनताको जिम्मेवारीतालाई कुशलतापूर्वक भूमिका निर्वाह गर्नुभएका किराती जनजाति सांसदमा बेग्ले लवज र जनतासँग घुलमिल भएर जीवन्त अभ्यासले उहाँको राजनीतिक यात्रालाई ओझिलो बनायो ।
पार्टीमा राम्रो प्रभाव राख्ने नेता भएकाले पनि सुदन किराती अघिल्लो पटक नै मन्त्री बन्ने चर्चा थियो । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा भोजपुरबाट प्रतिनिधिसभाका लागि निर्वाचित भएपछि किरातीको झनै चर्चा भयो । गत पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठनभएपछि तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठ ३९ औँ पर्यटनमन्त्रीका रुपमा एक सय ८३ दिन काम गरेर बिदा हुनुभएको थियो ।
पर्यटनमन्त्रीका रुपमा मन्त्री किरातीलाई कोभिड–१९ (कोरोना भाइरस) महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउनेदेखि पर्यटन तथा हवाई पूर्वाधार र सेवा सुदृढीकरणका लागि नीतिगत सुधार र रणनीतिक कार्ययोजना सक्रिय हुनुभएको छ ।
सुदन बेलायती लाहुरेका सन्तान हुनुहुन्छ । सुदनले २०६४ सालको संविधानसभा निर्वाचनमा शेरधन राईलाई हराउनुभयो । २०७० मा शेरधनसँग हार्नु भएका उहाँ २०७४ मा भोजपुरबाटै संघीय संसदमा निर्वाचित हुनुभयो । २०७९ मा फेरि शेरधन राईलाई हराएर किराती सांसद बन्नुभएको छ । पहिलो पटक मन्त्री बन्नुभएका किरातीले खादा मालाको रकम सहयोग पेटिका संकलन गर्नुभयो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएलगत्तै सुदन किरातीले आह्वान गर्नुभयो– मलाई भेट्न आउँदा फुल र खादा नल्याउनू । र, तुरुन्तै उहाँले आफ्नो कार्यकक्षमै एउटा दानपेटिका राख्न लगाएर भन्नुभयो– ‘फूल र खादामा गर्ने खर्च यहाँ सहयोग गर्नुस् ।’
माघ ३ गते मन्त्रीको शपथ खाएलगत्तै मन्त्री किरातीले आफ्नो टेबलअगाडि उक्त बाकस राख्न सचिवलाई निर्देशन दिनुभएको थियो । उहाँले बधाई दिन आउनेबाट खादा, माला र बुकेको प्रयोग नगर्ने भन्दै त्यसको बदला सहयोग रकम संकलन गर्ने रणनीति लिनुभयो । संकलित रकम दुर्गम क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने उहाँको तयारी छ ।
मन्त्रालयमा राखिएको सहयोग पेटिकामा १० दिनमा ६ लाख रूपैयाँ भन्दा बढी संकलन भएको थियो । आफू खादा र मालाको विरोधी नभएको भन्दै उहाँले माघ १ गते विमान दुर्घटनामा ७२ जनाले ज्यान गुमाएकाले तालुकदार मन्त्रालयको नेतृत्व गरेको हैसियतले शोकको बेला आफूले खादामालाले बधाई नथापेको मन्त्री किरातीले बताउने गर्नुहुन्छ ।
‘धेरै महानुभावहरूले खादाको पैसा त्यहाँ लगाउनुहुन्छ । ६ लाख भन्दा बढी संकलन भएको छ । यो हेर्दा त एकजना मन्त्रीले खादा माला नलगाउँदा मात्रै यसरी रकम संकलन हुन्छ भने २५ जना मन्त्री तथा देशभरका हजारौं जनप्रतिनिधिहरूले कति अर्बको खादा माला लगाइँदोरहेछ त ?’, उहाँले प्रश्न गर्नुहुन्छ ।
मन्त्री किरातीले मन्त्रालय आम नागरिकको रहेको बताउँदै देशको सापेक्षतामा मन्त्रालय सञ्चालन गर्न सुझावसमेत मागिरहनुभएको छ । उहाँले सुझाव र जनगुनासो संकलनका लागि ‘ई–हुलाक सेवा’ नामक फेसबुक पेज सञ्चालनमा ल्याउनुभएको छ । त्यहाँ आएका सुझाव र गुनासोलाई उहाँले जवाफ फर्काउँदै आउनुभएको छ ।
आफू काम गरेर देखाउन आएको र दाग लागेर नफर्किने भन्दै मन्त्री किरातीले त्यसमा साथ दिन मातहतका अधिकारीलाई भन्दै आउनुभएको छ । केहीले मन्त्री किरातीले ‘स्टन्ट’ गरिरहेको भनेर टिप्पणी पनि रहिरहेका छन् । तर, पहिले सांसद हुँदादेखि नै फरक ढंगले काम गर्ने उहाँको शैली रहेको र नयाँ जोश र जाँगरसहित अहिलेको सिंहदरबार इन्ट्रीले आशा पलाएको छ । यद्यपि, उहाँले थालेका केही कदमले सकारात्मक तरंग देखिएपनि अहिले नै मूल्यांकन गर्न हतारो हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय