उर्लाबारी । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच एकता भई बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मोरङको उर्लाबारीमा एकता भेला सम्पन्न गरेको छ ।
भेलाले पार्टीलाई स्थानीय तहमा थप सशक्त र संगठित बनाउँदै जनतामाझ स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । पार्टीका नेता, पूर्वमन्त्री तथा सांसद गणेश उप्रेती ‘सुशिल’को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले गजेन्द्र दंगालको संयोजकत्वमा १ सय ४५ सदस्यीय नगर समिति गठन गरेको हो । समितिको सहसंयोजकमा चन्द्रबहादुर राई, निर्मला रसाईली, राजिब लिम्बू, पवन चौधरी, कविराज धिमाल, योगेन्द्र डाँगी र शोभा तामाङ रहनुभएको छ । भेलाले पार्टी संगठनलाई वडा तथा टोल तहसम्म विस्तार गर्दै जनताका समस्या र सरोकारलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले पार्टी एकता दुई राजनीतिक शक्तिको संगठनात्मक मिलन मात्र नभई कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने अवसर भएको बताउनुभयो । उहाँले देशमा राजनीतिक स्थायित्व, सुशासन र जनताको जीवनस्तरमा सुधार ल्याउन कम्युनिष्ट शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । पार्टीलाई बलियो संगठनमा रूपान्तरण गर्दै जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उप्रेतीले संगठन विस्तारसँगै पार्टीको नेतृत्व र कार्यकर्ताले जनताको दैनिक जीवनसँग जोडिएका समस्या बुझ्नुपर्ने बताउनुभयो । जनताले अपेक्षा गरेको परिवर्तन व्यवहारमा देखिने गरी काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले नेपाली कम्युनिष्ट पार्टीलाई जनताको पार्टीका रूपमा स्थापित गर्न सबै तहका नेता तथा कार्यकर्तालाई सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । ‘अब पार्टी संगठन कागजमा मात्र सीमित भएर हुँदैन,’ उप्रेतीको भनाइ थियो, ‘जनताको घरदैलोमा पुग्ने, जनताका समस्या सुन्ने र समाधानका लागि निरन्तर संघर्ष गर्ने संगठन निर्माण गर्नुपर्छ ।’ उहाँले उर्लाबारीमा पार्टीलाई सशक्त रूपमा अघि बढाउन नवगठित समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । पार्टीभित्रको एकतालाई व्यवहारमा कार्यान्वयन गर्दै सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विशेन्द्र चेम्जोङ, मोरङ जिल्ला संयोजक प्रेम मिभक, नेता मानबहादुर श्रेष्ठलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
वक्ताहरूले कम्युनिष्ट पार्टीहरूको एकतापछि बनेको नयाँ राजनीतिक शक्तिलाई जनतामाझ बलियो रूपमा स्थापित गर्न संगठन सुदृढीकरण आवश्यक रहेको बताएका थिए । उनीहरूले विगतका कमजोरीबाट पाठ सिक्दै जनताका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।























