घनश्याम भण्डारी÷उर्लाबारी
पूर्वी मोरङ, पश्चिम इलाम, पाँचथर र ताप्लेजुङका हजारौँ नागरिकको दशकौँ पुरानो सपना बोकेको उर्लाबारी– मधुमल्ला–रबि सडक आज पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन । ५५ वर्षअघि मन्त्रीस्तरबाट शीलान्यास गरिएको यो सडक अहिले पनि धुलो, हिलो, पहिरो र उपेक्षाको प्रतीक बनेको छ ।
वि.सं. २०२८ सालमा तत्कालीन शिक्षामन्त्री नगेन्द्र प्रधानको अगुवाइ तथा तत्कालीन परराष्ट्रमन्त्री योगप्रसाद उपाध्यायको उपस्थितिमा सडकको शीलान्यास गरिएको थियो । त्यसबेला स्थानीयले छिट्टै सडक बन्ने र पहाड–तराईको दूरी घट्ने सपना देखेका थिए । तर पाँच दशक भन्दा बढी समय बित्दा पनि त्यो सपना पूरा हुन सकेको छैन ।
पञ्चायतकालमा राजनीतिक प्राथमिकताको अभावले ओझेलमा परेको यो सडक वि.सं. २०५१ मा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले रातो किताबमा समावेश गरेपछि फेरि आशा पलाएको थियो । तर, बजेट अभावले योजना अघि बढ्न सकेन ।
तथापि स्थानीयले भने सरकारको मुख ताकेर मात्र बसेनन् । वि.सं. २०६४ मा उर्लाबारी युवा क्लबको संयोजनमा मोरङ, इलाम र पाँचथरका प्रतिनिधिहरूको भेलाले लालबहादुर श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन ग¥यो । त्यसपछि स्थानीयको श्रमदान, आर्थिक सहयोग र अथक प्रयासबाट चुरे क्षेत्रको जोखिमपूर्ण सिस्ने, एकपाइले, तिनचुले र छालासुकुवा खण्ड पार गर्दै वि.सं. २०७४ मा सडकको ट्र्याक खोलियो । ट्र्याक खुलेपछि पहिलो पटक एम्बुलेन्स फुङ्नामसम्म पुग्दा स्थानीयले त्यसलाई ऐतिहासिक उपलब्धिका रूपमा मनाएका थिए । तर, त्यसयता सडक स्तरोन्नति हुन सकेन । वर्षायाममा खोल्सा, पानीको बहाव र पहिरोले सडकका धेरै भाग पुनः क्षतिग्रस्त बनाइदिएका छन् । फुङ्नामका लालबहादुर श्रेष्ठ, दीपक श्रेष्ठ, भक्त श्रेष्ठ, प्रकाश श्रेष्ठलगायत स्थानीयले दिनरात खटेर ट्र्याक खोल्ने अभियान सफल बनाए । त्यस्तै मानबहादुर श्रेष्ठ, शेरबहादुर बस्नेत, बेदनिधि ढकाल, देवी आचार्य, सेवन्त दाहाललगायतले सम्बन्धित निकायमा पटक–पटक धाएर सडक निर्माणको माग गरे । तर,उनीहरूको पहल अझै पूर्ण सफल हुन सकेको छैन ।
स्थानीय प्रकाश श्रेष्ठ भन्नुहुन्छ, ‘ट्र्याक खोलेको पनि वर्षौँ बितिसक्यो। जनप्रतिनिधिलाई पटक–पटक ध्यानाकर्षण गरायौँ, तर सडक स्तरोन्नतिका लागि कुनै प्रभावकारी काम भएन। अहिले खोलेको ट्र्याक पनि पहिरो र वर्षाले बगाउँदै लगेको छ ।’ करिब ५२ किलोमिटर लम्बाइको यो सडकमा ठूलो पुल निर्माण गर्नुपर्ने आवश्यकता नरहेको स्थानीयको दाबी छ । सडक स्तरोन्नति भएर नियमित यातायात सञ्चालनमा आए पश्चिम इलाम, पाँचथर र ताप्लेजुङका नागरिकले छोटो दूरीबाट राजमार्गको पहुँच पाउनेछन् । कृषि उत्पादनको ढुवानी सहज हुने, पर्यटन प्रवद्र्धन हुने र स्थानीय अर्थतन्त्रले नयाँ गति लिने अपेक्षा गरिएको छ । तर, अहिले पनि यो क्षेत्रका बासिन्दाले आफूहरू ‘इलामले पनि नहेर्ने, मोरङले पनि नदेख्ने’ भूगोलमा परेको अनुभूति गरिरहेका छन् । पुस्तौँदेखि दोहोरिँदै आएको एउटै प्रश्न अझै जीवित छ—मन्त्रीले शिलान्यास गरेको उर्लाबारी–मधुमल्ला–रबि सडक आखिर कहिले बन्छ ? राज्यको प्राथमिकतामा यो सडक कहिले पर्छ भन्ने प्रश्नको उत्तर अझै भविष्यकै गर्भमा छ । तर, स्थानीयको आशा भने अझै मरेको छैन ।























