उर्लाबारी । झापाको कमल गाउँपालिका–६, गुवाबारीमा एक परिवारले नौ दिनकै अन्तरमा आमा–छोरा गुमाएको छ । छोराको निधनको शोकमा डुबेको परिवारमा नवौँ दिनको काजकिरिया चलिरहेकै बेला आमाको समेत निधन भएपछि परिवारमा अर्को बज्रपात परेको हो ।
स्थानीय वेनु पाठकका छोरा मोहन पाठकको निधन भएको नवौँ दिन उनकी आमा बुद्धिमाया शिवाकोटी पाठकको समेत निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
लामो समयदेखि निमोनिया तथा दमसम्बन्धी स्वास्थ्य समस्याबाट पीडित बुद्धिमायाको मंगलबार राति करिब १० बजे निधन भएको बताइएको छ ।
छोराको असामयिक निधनको पीडाबाट परिवार सम्हालिन नपाउँदै आमाको समेत निधन भएपछि आफन्तजन थप शोकमा परेका छन् ।
उर्लाबारी चोकमा लामो समयदेखि रेडिमेड कपडाको व्यवसाय गर्दै आएका मोहन पाठकको केही दिनअघि हृदयाघातका कारण निधन भएको थियो । व्यवसायसँगै सामाजिक सञ्जाल टिकटकमा समेत सक्रिय रहेका पाठक पसलमा नयाँ कपडा आएपछि त्यसको भिडियो बनाएर सार्वजनिक गर्ने गरेका कारण स्थानीयमाझ परिचित थिए ।
मोहनको निधनको नवौँ दिनको काजकिरिया चलिरहेकै अवस्थामा बुद्धिमायाको निधन भएपछि आफन्त, छरछिमेकी तथा स्थानीयवासी स्तब्ध भएका छन् । नौ दिनकै अन्तरमा आमा–छोराको निधन भएपछि पाठक परिवारमा गहिरो शोक छाएको छ ।























