विराटनगर । कोरोना संक्रमणका कारण विराटनगर र धरानमा थप चारजनाको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा एक/एकजना गरी चार जनाको मृत्यु भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठका अनुसार मंगलबार राति मोरङ बेलबारी नगरपालिका– १० का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
२१ असोजमा कोरोना पोजेटिभ देखिएका उनलाई मंगलबार प्रतिष्ठानको काभिड अस्पताल भर्ना गरिएको थियो । भर्ना भएको केही समयपछि उनको मृत्यु भएको डाक्टर श्रेष्ठले बताए ।

वीपी प्रतिष्ठानमै इटहरी उपमहानगरपालिका– ६ सुनसरीकी ६० वर्षीय महिलाको पनि मृत्यु भएको उनले बताए । उनका अनुसार महिलामा २४ असोजमा कोरोना देखिएको थियो । उपचारको क्रममा बुधबार बिहान करिब ४ बजे उनको मृत्यु भएको श्रेष्ठले बताए । मृतक महिला मधुमेह रोगबाट पीडित थिइन्ला । अस्पताल भर्ना भएकी महिलाको इमरजेन्सी वार्डबाट कोभिड अस्पतालमा सार्ने तयारी हुँदै गर्दा मृत्यु भएको डाक्टर श्रेष्ठले बताए ।

विराट मेडिकल कलेजमा मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसबारीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ६० वर्षीय पुरुषको मंगलबार राति करिब १२ बजे मृत्यु भएको हो । अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार मृतकलाई असोज १५ गते कोरोना पुष्टि भएको थियो । मृतकमा श्वासप्रश्वास र मृगौला सम्बन्धी पुरानै समस्या रहेको उनले बताए ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–५ घर भएकी कोरोना संक्रमित महिलाको नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । मंगलबार साँझ उपचारका क्रममा ४९ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालले मंगलबार साँझ ७ बजेतिर उनको मृत्यु भएको जानकारी दिए । मिर्गौलाको डायलासिस गर्नका लागिभन्दै आइतबार बिहान महिलालाई अस्पताल भर्ना गरिएको थियो । श्वासप्रश्वासको समस्या रहेकी महिलाको स्वाबको पीसीआर परीक्षण गराउँदा बेलुका रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय