-दिलिप पोखरेल,उर्लावारी
इलाका प्रहरी कार्यालय उर्लावारीमा बा १ झ ६४५० र बा १ झ ७३५९ नम्बरका दुई वटा गाडी छन् । ७३५९ नम्बरको गाडी १७ वर्ष पुरानो हो भने ६४५० को चाही २२ वर्ष पुरानो । यी गाडी मर्मत गरिरहनुपर्छ । कुदाउने बेला ठेल्नुपर्ने समस्या छ ।
कुनै अपराधिक गतिविधि भएर समात्नका लागि गाडी प्रयोग गर्नुपरे उर्लावारी प्रहरीलाई समस्या हुने गरेको छ । कार्यालयका प्रमुख एवं इन्सपेक्टर उद्धव पोखरेलले मंगलबारे पेजलाई भने,’गाडी धेरै पुरानो भएकाले समस्या भइरहेको छ । कुनै घटना घटेको ठाउँमा तत्काल पुग्न कठिन छ । ‘
उसो त प्रहरीलाई घटना घटेपछि मात्रै घटनास्थलमा पुग्ने गरेको भन्ने आरोप छ । उर्लावारीमा चाही गाडीकै कारण प्रहरीले सास्ती व्यहोर्नु परिरहेको छ । हाल उर्लावारी प्रहरीसँग ३ वटा मोटरसाइकल रहेको प्रहरी निरीक्षक पोखेरलले बताए । उर्लावारी प्रहरीले उर्लावारी नगरपालिका र मिक्लाजुङ गाउँपालिका सुरक्षा दिँदै आएको छ । विकट तथा धेरै टाढाका ठाउँहरु जान भने सवारी साधानका कारण प्रहरीलाई समस्या भइरहेको छ ।
पुरानो चुहिने भवनबाट सेवा दिँदै आएको उर्लावारी प्रहरीको नयाँ भवनको निर्माण कार्य अन्तिम चरणमा छ । हाल एउटै कोठामा थुनुवाहरुलाई कोचाकोच गरेर राख्नुपर्ने अवस्था रहेको उर्लावारी प्रहरीलाई नयाँ भवनमा सरेसँगै यो समस्या हल हुने छ ।
उर्लावारी प्रहरीको नयाँ भवनमा थुनुवाहरुलाई एट्याच बाथरुमको समेत व्यवस्था गरिएको छ । थुनुवाहरुलाई थुनुवा कक्षमै यो सुविधा दिइएपछि सुरक्षा संवदेनशीलताको हिसाबले पनि उपयुक्त हुने प्रहरी निरीक्षक पोखरेलले बताए ।
हाल महिला हिरासत कक्षको अभाव रहेको उर्लावारी प्रहरीले नयाँ भवनमा महिला हिरासत कक्ष पनि निर्माण गरेको छ ।
यसैबीच उर्लावारी प्रहरीको आधुनिक र सुविधा सम्पन्न अढाइ तले भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सम्भवतः पुसदेखि प्रहरीले नयाँ भवनबाट सेवा दिने तयारी रहेको इन्सपेक्टर पोखरेलले बताए ।
२०७६ साल भदौ ६ गते प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले उर्लावारी प्रहरीको अढाई तले सुविधा सम्पन्न भवनको शिलन्यास गरेका थिए । माता लक्ष्मी कन्स्टक्सन कम्पनीले दुई करोड ९३ लाख ५३ हजार ९० रुपैयाँमा इप्रका उर्लावारीको भवन निर्माणको ठेक्का पाएको छ ।
एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने भनिएपनि कोरोना महामारी कारण भवन निर्माण कार्य केही ढिला भएको छ । मंगलबारे पेज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय