इलाम । इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले सुरुवाती चरणदेखि नै अग्रता कायम राखेका छन् । सुरुवाती चरणको तुलनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाइरहेका छन् ।
फाकफोकथुम गाउँपालिका १, २ र ३ वडाको मतगणना गर्दा नेम्वाङले कांग्रेसका उम्मेदवार खड्कासँगको मतान्तर २८ मा झारेका छन् । ४ हजार १ सय ५० मत गणना हुँदा कांग्रेसका खड्काले १ हजार ६ सय ५८ र एमालेका नेम्वाङले १ हजार ६ सय ३० मत पाएका छन् । वडा नं १ र २ को मतगणनामा कांग्रेस उम्मेदवार खड्का ८० भन्दा बढी मतान्तरले अगाडि थिए । गत स्थानीय निर्वाचनमा फाकफोकथुमको १ र २ वडामा कांग्रेसले जितेको थियो भने वडा नं ३ को वडाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका थिए ।
यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३० मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३०८ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, अहिलेसम्म फाकफोथुम गाउँपालिकाका तीन वटा वडाको मतगणना सकिएको छ ।
यी तीन वटाबाट जम्मा ४ हजार १ सय ५० मत खसेको थियो । जसमध्ये वडा नम्बर १ मा १७, २ मा १३ र ३ मा १४ मत बदर भएको छ । फाकफोकथुम गाउँपालिकाका १६ हजार ३०२ मतदातामध्ये ९ हजार ६०४ मत खसेको थियो । यस पालिकामा ७ वटा वडा रहेका छन् । अहिले फाकफोकथुम गाउँपालिकाको मतगणना धमाधम भइरहेको छ । दुई वटा ठाउँमा भइरहेको गणनामा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय