उर्लाबारी । उर्लाबारीको सांगीतिक परिवेश फेरि एकपटक तातेको छ । कारण हो—“यो जुनिमा” बोलको नयाँ गीतको भिडियो, जसले केवल संगीतप्रेमीको ध्यान मात्र तानेको छैन, स्थानीय प्रतिभाको सम्भावनालाई पनि उजागर गरेको छ । यस गीतमार्फत पत्रकारिताबाट चिनिनुभएका रमेश भण्डारी अब अभिनय क्षेत्रमा पनि मजबुत उपस्थितिका साथ देखिनुभएको छ ।
सञ्चार क्षेत्रको व्यस्तता, समाचारको चाप र समाजप्रतिको जिम्मेवारीबीच पनि भण्डारीले आफ्नो सिर्जनात्मक पक्षलाई कहिल्यै दब्न दिनुभएन । अनलाइन टिभी पत्रकार संघ मोरङका अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँले अब अभिनयमार्फत दर्शकमाझ नयाँ रूपमा प्रस्तुत दिनुभएको छ । “यो जुनिमा” उहाँको लागि केवल एउटा भिडियो होइन, एउटा नयाँ परिचय र सम्भावनाको ढोका हो ।
गीतमा कुशुम भट्टराई (बिन्दास) को स्वर र शब्दले प्रेमका सूक्ष्म भावना, सम्बन्धका उतार–चढाव र जीवनका यथार्थलाई समेट्ने प्रयास गरेको छ । नारायण दंगालको संगीत संयोजनले गीतलाई थप सशक्त बनाएको छ । सुन्दा मात्रै होइन, हेर्दा पनि मन छुने खालको सन्देश यसमा पाइन्छ । भिडियोमा अञ्जली अधिकारी र उमेश बराईलीसँगको सहकार्यले कथा अझ जीवन्त बनेको छ । रमेश भण्डारीको अभिनय स्वाभाविक र भावनात्मक देखिन्छ—जसले दर्शकलाई कथाभित्र तान्ने शक्ति राख्छ । पत्रकारितामा जस्तै, यहाँ पनि उहाँले संवेदनशीलता र अभिव्यक्तिको सन्तुलन देखाउनुभएको छ । भिडियोका निर्देशक विवेक हिङमाङले आधुनिक दृश्य भाषा र कथावाचनलाई सन्तुलित रूपमा प्रयोग गर्नुभएको छ । दृश्यहरूमा रंग, फ्रेम र भावनाको संयोजनले गीतलाई केवल सुन्ने होइन, अनुभूति गर्ने बनाएको छ । पोस्ट–प्रोडक्सनमा किशोर श्रेष्ठ को टिमले कामलाई परिष्कृत र आकर्षक बनाएको देखिन्छ ।
उर्लाबारी जस्तो शहरमा यस्ता सिर्जनात्मक कार्यहरू बढ्दै जानु सकारात्मक संकेत हो । स्थानीय कलाकार, सञ्चारकर्मी र संगीतप्रेमीहरूको उपस्थितिमा भिडियो सार्वजनिक हुनु आफैंमा समुदायको समर्थनको संकेत हो। यस्ता प्रयासले स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरसम्म पु¥याउने सम्भावना बोकेको छ ।























