उर्लाबारी । मोरङको उर्लाबारी–६ मा यतिबेला हरियाली खेतबीच रातो र पहेँलो खर्बुजाले भरिएको दृश्य आकर्षणको केन्द्र बनेको छ । यही खेतका मालिक हुनुहुन्छ, कृषक माधबराज रिजाल, जसले परम्परागत खेतीलाई छोडेर व्यावसायिक खर्बुजा खेतीतर्फ मोडिँदा अहिले उल्लेखनीय आम्दानी गर्न सफल हुनुभएको छ ।
रिजालले तीन विघा जमिनमा खर्बुजा खेती गर्नुभएको छ । उहाँका अनुसार एक विघामा करिब १ लाख रुपैयाँ लगानी हुन्छ, तर आम्दानी भने ५ लाख रुपैयाँसम्म पुग्ने गरेको छ । ‘मेहनत र समय व्यवस्थापन मिल्यो भने खर्बुजा खेती निकै फाइदाजनक छ,’ उहाँ भन्नुहुन्छ । उहाँले आफ्नो खेतमा रातो र पहेँलो गरी दुई जातका खर्बुजा उत्पादन गर्नुभएको छ । दुवै जातका खर्बुजा स्वादिलो र आकर्षक भएकाले बजारमा राम्रो माग छ । व्यापारीहरू खेतमै आएर खर्बुजा लैजाने भएकाले बजार खोज्न पनि धेरै समस्या नभएको उहाँको अनुभव छ ।
‘पहिले धान–मकै लगाउँथेँ, तर आम्दानी सीमित हुन्थ्यो,’ रिजालले सुनाउनुभयो, ‘अहिले खर्बुजा खेतीबाट छोटो समयमा राम्रो आम्दानी लिन सकिएको छ । यसले परिवारको आर्थिक अवस्था पनि सुधारिएको छ ।’ खर्बुजा खेतीका लागि समयमै सिँचाइ, मलजल र रोग नियन्त्रण अत्यन्त आवश्यक हुने उहाँ बताउनुहुन्छ । मौसम अनुकूल रह्यो भने उत्पादन अझै राम्रो हुने उहाँको भनाइ छ । साथै, उचित बजार व्यवस्थापन र प्राविधिक सहयोग भए अझ धेरै कृषक यसतर्फ आकर्षित हुने उहाँको विश्वास छ ।
रिजालले कृषि पेशालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिनुहुन्छ । ‘कृषि मेहनत गर्नेहरूको पेशा हो, तर सही योजना र प्रविधि अपनाए राम्रो आम्दानी लिन सकिन्छ,’ उहाँ भन्नुहुन्छ, ‘युवाहरूले पनि विदेश जाने सोच मात्रै होइन, आफ्नै गाउँमा केही गर्ने सोच बनाउनु पर्छ ।’ उर्लाबारी क्षेत्रमा व्यावसायिक खेतीको सम्भावना बढ्दै गएको सन्दर्भमा माधबराज रिजालको यो सफलता कथा अन्य कृषकका लागि प्रेरणाको स्रोत बन्न सक्छ । कम लगानीमा उच्च प्रतिफल दिन सक्ने खर्बुजा खेतीले स्थानीय कृषिमा नयाँ आशा जगाएको छ ।























