उर्लाबारी । मोरङको उर्लाबारीका पत्रकार रुपेन्द्र शेर्माले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गर्नुभएको छ ।
आफ्नै करिब १ बिघा ५ कट्ठा जग्गामा उहाँले यसपटक खरबुजा फलाउनुभएको छ । ‘पहिला बाँझै हुन्थ्यो, यसपटक खरबुजा लगाएँ, प्रशस्त आम्दानी भएको छ’, उहाँले भन्नुभयो । यसपटक खरबुजा लगाएर सफल भएको शेर्माले बताउनुभयो । सरस्वती र सागरकिङ जातको खरबुजा लगाउनुभएका उहाँले ६० दिनपछि उत्पादन भएको र हालसम्म १ सय क्विन्टल हाराहारीमा बिक्री गरेको बताउनुभयो । चैतको पहिलो हप्तादेखि उत्पादन सुरु भएकामा जेठसम्म खरबुजा फल्ने उहाँले बताउनुभयो । छ लाख आम्दानी हुने अनुमान गरिएकामा उत्पादन बढेकाले सोचेभन्दा धेरै बिक्री हुने र आम्दानीसमेत बढ्ने देखिएको उहाँले बताउनुभयो ।
आफूले उत्पादन गरेको खरबुजा बिक्रीमा कुनै समस्या नभएको शेर्माले बताउनुभयो । स्थानीय बजारमै खरबुजा खपत हुँदै आएको छ । आफूहरूले कुनै विषादी प्रयोग नगरी उत्पादन गरेकाले बारीबाटै दैनिकजसो बिक्री हुने गरेको उहाँले बताउनुभयो । ‘यसलाई खासै औषधि हाल्नुपरेन, प्राङ्गारिक मल नै धेरै प्रयोग गरियो, उत्पादन पनि सोचेभन्दा धेरै भयो, स्थानीय उत्पादन भनेपछि बारीबाटै किनेर लैजाने धेरै हुन्छन्’, उहाँले भन्नुभयो । खरबुजाखेतीमा खासै खर्च र मेहनत गर्नुनपरेको उहाँले बताउनुभयो । शेर्माले हालसम्म ४ लाख रुपैयाँको खरबुजा विक्री गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय