सरोज बस्नेत
मोरङ । पूर्वको पर्यटनका लागि रंगेली–७ स्थित सनसारीमाईस्थान नेपालीका लागि मात्र नभई भारतीय भक्तजनका लागि पनि महत्वपूर्ण गन्तव्य मानिन्छ । सनसारी माईस्थानमा गरेको भाकल पूरा हुन्छ भन्ने विश्वासले शनिबार र मंगलबार भक्तजनको भीड हेर्न लायक र फरक हुन्छ । सनसारीमाईको दर्शन गर्ने र बलि दिन आउने भक्तजनको घुइँचो लाग्ने यो मन्दिर कोशी प्रदेशका तराई क्षेत्रका जिल्लामा धार्मिक पर्यटकीय गन्तव्यमा मानिन्छ । कोशीमा ताप्लेजुङको पाथीभरा, खोटाङको हलेसी जस्तै विश्वास र श्रद्धाले भरिएको सन्सारी माई स्थानमा भक्तजनको अत्याधिक चाप हुन थालेपछि यसको गुरुयोजना नै बनाएर कोशी प्रदेश सरकारले पूर्वाधार निर्माणको काम गरिरहेको छ ।


रंगेली–७ स्थित चिसाङ खोलाको बगरमा रहेको सनसारी माई मन्दिरमा कोशी सरकारले २०७७ सालदेखि लगानी सुरु गरेको हो । सरकारले १० करोड ३३ लाख ३९ हजार २ सय २७ रूपैयाँ बराबरको लागतमा आवश्यक पूर्वाधार निर्माण सम्झौता २०७७ मंसिर २६ गते गरेको थियो । तत्कालिन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रालयले मन्दिर परिसरको ५ बिघा क्षेत्रफल जग्गामा भक्तजनको सहजताका लागि विवाह र व्रतबन्ध गर्ने स्थल, पार्टी प्यालेस, पार्कसहितको पोखरी निर्माण, पुजारी क्वाटर, स्वागतद्वार, वाउन्ड्रिवाल, मार्केट ब्लक तथा मन्दिरपरिसरमा सटरसहितका भवन, पर्साद चुल्हो, बिजनेश सटर, कार्यालय तथा शौचालयलगायत पूर्वाधार निर्माणका लागि धुलिखेल निर्माण सेवा प्राइभेट लिमिटेडसँग सम्झौता गरेको थियो ।


मन्दिर व्यवस्थापन समितिका अध्यक्ष संजिव श्रेष्ठका अनुसार मन्दिर परिसरमा चिल्ड्रेन पार्क, हवनकुण्ड, ब्राह्मणबस्ने घर, गुवाई घर, शौचालय, पार्किङ स्थल, भक्तजनका लागि प्रसाद बनाउन ग्याँस लाइनसहितको भवन, भक्तजनका लागि विश्राम कक्षलगायत सुविधासम्पन्न संरचना निर्माण गर्ने गरि भएको सम्झौता अनुसार कार्य सम्पन्न भएको छैन । यद्यपी बहुवर्षे योजना अनुसार कोरोना संक्रमणका कारण निर्माणमा अवरोध भएको कारण देखिएपछि पछिल्लो समय काम सुरु गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
अध्यक्ष श्रेष्ठका अनुसार प्रदेश सरकारले मन्दिर परिसरबाट सरकारी फूलपातीबढाई गर्न थालेपछि मन्दिरको महत्व झनै बढ्दै गएको छ । त्यतिमात्रै नभई मन्दिरमा आउने भक्तजनको व्यवस्थापन मिलाउन पूर्वाधार संरचनाहरुको कामले समेत प्राथमिकतामा पाएको हो । निर्माण कार्य सकिनुपर्ने म्याद गुज्रेपछि लागत बृद्धि गरेर १३ करोड पुगेको र आगामी वर्षसम्ममा बाँकी काम सकिने तयारी भईरहेको अध्यक्ष श्रेष्ठको भनाई छ । प्रदेश सरकारले तयार गरेको गुरुयोजनाअनुसार सन्सारी माईस्थानको विकासका लागि १७ करोड ९० लाख रुपैँया लागत अनुमान गरिएको थियो ।


यस मन्दिरमा मंगलबार र शनिबार नेपाल तथा भारतका टाढा टाढाबाट दर्शनका लागि भक्तजनहरु आउने गरेका छन् । सो मन्दिरमा नेपालका विभिन्न जिल्ला र भारतको कलकत्ता, हरियाणा तथा सिमा नजिकका शहरहरुबाट समेत भक्तजनहरु पूजा अर्चनाका लागि आउने गर्छन् । सो मन्दिरमा पुजा आरधना गर्दा आफ्ना दुख कष्ट समाप्त भएको र भाकल पुरा हुँदै आएको भक्तजनहरु बताउँछन् । मन्दिरको दर्शनसँगै भारतबाट आएका धार्मिक पर्यटकहरु केही दिन नेपालमै घुम्ने गरेको स्थानीयले बताएका छन् । मन्दिरमा भाकल गरेको ९० दिन भित्र भाकल पूरा हुने जनविश्वासका साथ मन्दिरमा दर्शन गर्न आउने गरेको भक्तजनहरु बताउँछन् । उक्त मन्दिरमा भाकल गरेर बोकाको बलिदिने र प्रसाद घर लैजान नहुने परम्परा रहेको छ । मन्दिर क्षेत्रमा पुजाआजासहित पिकनिक मनाउने उद्देश्यले समेत भक्तजन आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । अन्य दिन भन्दा मंगलबार र शनिबार मन्दिरमा हजारौँ भक्तजनहरुको भिड लाग्ने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । ‘यहाँ दिनहुँ भक्तजनहरु आउँछन् तर पनि विषेश गरि मंगलबार र शनिवार चाँहि अत्याधिक भिँड लाग्ने गर्छ ।’ उनले भने–‘अझ शनिवारका दिन त भिड नियन्त्रण गर्न नै हम्मे हम्मे पर्छ ।’ मन्दिरमा भक्तजनले बली चढाउँछन् र प्रसाद आफन्तजनहरुसँगै ग्रहण गर्छन् । बार्षिक रुपमा नेपाल र भारतका करिब २ लाख भक्तजनहरुले यहाँ आउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । मन्दिरमा ३ जना पण्डित र ११ जना कर्मचारी रहेका छन् । ‘बर्षमा ३ महिना (साउन, सोह्रश्रद्धा, घटनास्थापना) मा बली दिने काम बन्द हुन्छ’ अध्यक्ष श्रेष्ठले भने–‘बली दिने मंगलबार र शनिबार अत्याधिक भीड हुन्छ, अन्य दिनमा पनि भक्तजनको सहभागिता रहन्छ ।’ बार्षिक रुपमा ५० लाख भन्दा बढी भेटी संकलन हुने गरेको उनले जानकारी दिएका छन् । सोही रकमबाट मन्दिरको भौतिक पूर्वाधार र पण्डित तथा कर्मचारीको तलब दिने गरेको उनको भनाई छ ।


यस्तै, मोरङको केराबारी गाउँपालिका वडा नं. २ मा रहेको जेफाले डाँडाको भौतिक पूर्वाधार र होमस्टेलमा कोशी प्रदेश सरकारले सहयोग गरिरहेको छ । गत आर्थिक बर्षमा प्रदेश सरकारले सामुदायिक भवनमा जिप्सनका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको थियो भने यस आर्थिक बर्षमा २५ लाख बराबरको गेट, ब्लकलगायतको काममा भइरहेको जेफाले सामुदायिक होमस्टेका अध्यक्ष युवराज खड्काले जानकारी दिएका छन् । ‘प्रदेश सरकारले जेफाले डाँडालाई पर्यटकीय केन्द्र बनाउन निरन्तर सहयोग गरिरहेको छ’ उनले भने–‘ यहाँ अहिले ११ वटा होमस्टे सञ्चालनमा रहेको छन् ।’

May be an image of 9 people and windmill
होमस्टे सञ्चालक भीमबहादुर ठकुरीका अनुसार जेफालेमा भने पर्यटक बढ्दो रहेछ । दैनिक होमस्टेमा बस्न र जेफालेबाट मनोरम दृश्य हेर्नेको लर्को नै लागिरहेको छ । उनका अनुसार जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाँचेर सांस्कृतिक मनोरञ्ज प्रदान गर्ने गरिएको छ । १ हजार ९ सय ७० मिटर उचाइमा रहेका भ्यू टावरवाट पूर्वका १६ जिल्ला साथै सूर्योदय, सूर्यास्त, हिमाल, पहाड, तराईको दृश्यावलोकन गर्न सकिन्छ । जेफाले डाँडाबाट विश्वकै अग्लो हिमाल सगरमाथा, कञ्चनजंगासहितका हिम शृंखला देख्न सकिन्छ । चिया बगानले थप प्राकृतिक सौन्दर्यता थपेको छ । गर्मी बढेसँगै जेफालेमा आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । भारतबाट समेत जेफालेमा पर्यटकहरु जाने गरेका छन् । ४२ फिट अग्लो भ्यू टावरले पनि यहाँको आकर्षण बढाएको छ । सडकको स्तरोन्नती, सञ्चार र सुरक्षाको दरिलो व्यवस्था हुने हो भने जेफाले पूर्वको पर्यटकीय केन्द्रका रुपमा विकास हुने स्थानीय बताउँछन् ।

यस्तै, मिक्लाजुङ–२ मा रहेको चुली पोखरीलाई पर्यटकीय क्षेत्र बनाउन प्रदेश सरकार लागि परेको छ । लामो समयदेखि संरक्षण अभाव रहेको धार्मिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण स्थानको रुपमा परिचित चुलीपोखरी प्रदेश सरकारको विस्तारसँगै संरक्षण तथा पर्यटकीय क्षेत्रका रुपमा विस्तार थालिएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयले चुलीपोखरीको घेराबारा तथा ब्लक बिछ्याउने काम गरेको छ । पर्यटनको प्रचूर सम्भाव्यता रहेको चुली पोखरीको भौतिक पूर्वाधार विकासमा प्रदेश सरकारले लगानी गरिहेको छ । चारौतिर डब्लुहिल पहाडको थप्लोमा करिब दुई बिगाहा क्षेत्रफलमा फैलिएर रहेको चुलीपोखरी धार्मिक तथा पुरातात्विक हिसाबले समेत निक्कै महत्वपुर्ण स्थान रहेको र होमस्टेको रुपमा यसलाई विकास गर्ने पहल भइरहेको मिक्लाजुङ वडा नं. २ का वडाध्यक्ष अर्पण श्रेष्ठ बताउँछन् ।

प्रदेश सरकारले चुली पोखरीलाई पर्यटकीय स्थल बनाउन महत्वपूर्ण सहयोग गर्दै आएको उनको भनाई छ । घना जंगलले ढाकेको चुली पोखरीबाट प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । परापूर्व कालमा चुली पोखरी क्षेत्रमा राजा र रानी नाम भएका दुईवटा पोखरी थिए । कालान्तरमा पश्चिममा रहेको रानी पोखरी सुकेपछि राजा पोखरी मात्र रहन पुगेको भन्ने जनविश्वास रहेको पाइन्छ । यस पोखरीको अर्को विशषता भनेको पोखरीको उत्तर तर्फ मध्यभागमा रहेको प्राकृतिक ढुङ्गा हो । जुन ढुङ्गाको आकार ठ्याक्कै स्त्रीप्रजनन अंग (योनी) आकारको रहेको छ । रानी पोखरी फुटेर गएसँगै राजा पोखरीका राजाले सोही प्रजनन अंगमा सहवास गर्ने गरेको जनविश्वास रहि आएको छ । सो पोखरीमा अर्को विशेषता भनेको वरीपरि जंगलले घेरिएको पोखरीमा कुनै पनी पातहरु पोखरीमा छैन । पोखरीमा पातहरु खसीहाले पनि चराहरुले टिपेर लाने गरेको जनविश्वास रहिआएको छ । तर, चराले कुन समयमा पात टिप्छ भने कसैलाई थाहा छैन । प्रदेश सरकारकै सहयोगमा चुलीपोखरी यतिबेला पर्यटकीय गन्तब्यको रुपमा विकसित भइरहेको छ ।

झन् सुन्दर बन्दैछ हसिना सिमसार
यस्तै, मोरङको सुन्दरहरैचा नगरपालिका–५ मा रहेको हसिना सिमसारमा पनि कोशी प्रदेश सरकारले लगानी गर्दै आएको छ । यस आर्थिक बर्षमा २५ लाख विनियोजना गरेको छ । २०६८ सालबाट सञ्चालनमा आएको हसिना पछिल्लो समय धेरैको रोजाइमा पर्न थालेको छ । प्रदेश सरकारसहितको सहयोगमा यस क्षेत्रको पर्यटन विकासमा ध्यान दिएको छ । यो सिमसारमा डाइनोसर, डाँफे, पृथ्वी, नाग, गोही आदिका मूर्तिकला छन् । आकर्षक मूर्तिहरुसँगै घुमघाम, पिकनिक र प्रकृतिको आनन्द लिन आउनेहरु बढेका छन् । सिमसार क्षेत्र ४९ हेक्टर क्षेत्रमा फैलिएको छ । आन्तरिक पर्यटकहरुले भिडभाड हुने हसिनामा दैनिक पाँच सय हाराहारीमा आगन्तुकहरु आउने गरेका छन् । बोटिङ गर्न समेत यहाँ उल्लेखिय भीड लाग्ने गरेको छ । सिमसार क्षेत्रमा बुद्ध बिहार, बुद्ध पोखरी, बुढासुब्बा मन्दिर, नाग पोखरी, साकेला थान, शिवालय मन्दिर आदि धार्मिक क्षेत्रहरु पनि बनाइएको छ । त्यसैले यो धार्मिक आगन्तुकहरुको पनि आकर्षणको केन्द्र बन्दै गएको छ । मिनि जु, विभिन्न कलाकृति र ६ वटा सानाठूला पोखरीले पनि हसिनाको आकर्षण बढाएको छ ।
कोशी प्रदेश सरकारले मोरङमा धार्मिक पर्यटकलाई प्राथमिकता दिएर बजेट बिनियोजन गर्दै आएको छ । वन, पर्यटन तथा वातावरण मन्त्रालयका पर्यटन पूर्वाधार÷विकास आयोजना शाखाका इन्जिनियर कुलदिपप्रसाद यादवले मोरङमा जातजातीका संग्राहालय, प्राकृतिक सम्पदा, पर्यावरण जोगाउने सिमसार तथा धार्मिक क्षेत्रलाई प्राथमिकता दिएर संरचनाहरु निर्माण भईरहेको जानकारी दिएका छन् । उनले कतिपय कामहरु अगाडीदेखि भईरहेको भएपनि बीचमा भएका विविध बाधाले सम्पम्न म्याद थप गरेर निर्माणाधिन चरणमा रहेको बताएका छन् ।
पर्यटन क्षेत्रका बहुआयमिक पक्षमध्ये मोरङमा धार्मिक पर्यटक लक्षित योजना प्राथमिकतामा राखिएका हुन् । इन्जिनियर यादवकाअनुसार चालु आर्थिक वर्षमा मन्दिरदेखि कबिर कुटीसम्मका योजना कार्यन्वनयमा रहेका छन् । जातजातिका संग्राहालय भवनअन्तर्गत बेलबारी–५ मा किराँत राई, ग्रामथान–५ मा आदिवासी थारु साँस्कृतिक भवन, थारु होमस्टे पर्यटन पूर्वाधार, विराटनगर–१० माझी पुच मन्दिर पर्यटन पूर्वाधार, विराटनगर–१५ मा किराँत याक्थुम चुम्लुङ्ग पूर्वाधार निर्माण, बुढीगंगामा थारु पर्यटन पूर्वाधार निर्माण, विराटनगर–१२ मा राजबंशी पर्यटन पूर्वाधार निर्माण, लेटाङ–९ मा नेपाल आदिवासी जनजाति महासंघको संग्राहालय भवन, सुन्दरहरैंचा–४ मा बौद्ध बिहादर धार्मिक पर्यटन पूर्वाधार निर्माण योजना समेटिएका छन् ।

यसैगरी प्राकृतिक तथा पर्यावरणीय दृष्टिकोणका हिसाबले पर्यटकीय संभावना बोकेका जेफाले, बेतना सिमसार, बेतिनी सिमसार, बेतेनी ताल, हसिना सिमसारका योजनाहरु समेटिएका छन् । यसैगरी विराटनगर–१४ को कविर कुटी र कबिर सामुदायिक भवन, ग्रामथान–७ मा बजरगंबली आर्यघाट निर्माण, विराटनगर–२ को चित्र गुप्त तथा छठी माता मन्दिरको अधुरो भवन, विराटनगर–१० को ब्रहाकुमारी राजयोग सेवा केन्द्र, सुन्दरहरैचाको चण्डेश्वर शिब पंचान्ग बाबा विश्वनाथ धाम पर्यटकीय पूर्वाधार, विराटनगर–१२ को नवदुर्गा पर्यटन प्रबद्र्धन पूर्वाधार, राम जानकी मन्दिर पर्यटन पूर्वाधार निर्माण लगायतका योजना समेटिएका छन् ।


त्यस्तै, मोरङको बेलबारी–११ को धैती सिमसार पर्यटन प्रबद्र्धनमा ५० लाख, केराबारी–४ को तीन थुम्की पार्क सौन्दर्यकरणमा २५ लाख, मोरङको खाजीपार्क सौन्दर्यकरणमा २५ लाख र थारु होमस्टे पर्यटन पूर्वाधारमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ । रानीमा पर्यटन प्रबद्र्धनका लागि स्वागत कक्ष निर्माण साथै अन्य आवश्यक कार्यका लागि १० लाख, केराबारी–२ मा जेफाले पर्यटन पूर्वाधारमा २५ लाख, सुन्दरहरैचामा हसिना समिसार पर्यटन प्रबद्र्धनमा २५ लाख, विराटनगर–१ को रामजानकी सेवामन्दिर अधुरो साुमदायिक भवनमा १७ लाख, विराटनगर–१२ को कालीदुर्गा बैष्णोदेवी मन्दिरमा १५ लाख रुपैयाँ छुट्टिएको छ ।

विराटनगरको मुसाफिर खाना भवन निर्माणमा २३ लाख ५० हजार, रतुवामाई–६ को ओमकारेश्वर शिव पांचायान मन्दिरमा पूर्वाधार निर्माणमा १५ लाख, सुन्दरहरैचा–५ को पूर्ण कदश्वर महादेव तथा सति देवी मन्दिर पूर्वाधार विकास निर्माणमा १५ लाख, विराटनगर–६ को काजर माजर भवती मन्दिर पूर्वाधार निर्माणमा १५ लाख, रतुवामाई–१ को उमागौरी मन्दिर पर्यटन पूर्वाधार निर्माणमा १५ लाख, विराटनगर–१ को रामजानकी सेवा मन्दिर अधुरो सामुदायिक भवनमा १८ लाख, सुन्दरहरैचा–५ को बृन्दावन गौशाला मन्दिर निर्माणमा २५ लाख, विराटनगर–१० मा श्री श्री १०८ दुर्गा मन्दिर पूर्वाधार निर्माणमा १५ लाख, विराटनगर–१ को महेन्द्रेश्वर शिवालय मन्दिर मर्मतमा १० लाख र सुन्दरहरैचा–५ मा बौद्ध विहार धार्मिक पर्यटन पूर्वाधार निर्माणमा २५ लाख विनियोजन भएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय