
केदार चौहान
मोरङ जिल्लाको पूर्वी भागमा अवस्थित उर्लाबारी–४ मा रहेको उर्लाबारी बहुमुखी क्याम्पस अहिले हजारौं विद्यार्थीको आशा र भरोसाको केन्द्र बनेको छ। शैक्षिक दृष्टिकोणले पछाडि परेको ग्रामीण क्षेत्रमा उच्च शिक्षाको ज्योति फैलाउने उद्देश्यले स्थापना भएको यो सामुदायिक क्याम्पस आज पनि कठिन परिस्थितिमा समेत अघि बढिरहेको छ।
यस क्याम्पसले शिक्षा मात्र होइन, समाजमा चेतना फैलाउने, युवा पुस्तालाई मुलधारमा ल्याउने र सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएको छ। सस्तो शुल्क, छात्रवृत्ति, सामुदायिक सहभागिता र आफ्नै स्रोत साधनबाट सञ्चालन भइरहेको क्याम्पसको अस्तित्व हाम्रो समाजको सचेत नागरिकका रूपमा हामी सबैको सहभागितासँग जोडिएको छ।
क्याम्पसको योगदान:
उर्लाबारी बहुमुखी क्याम्पसले व्यवस्थापन, शिक्षा, मानविकी जस्ता संकायहरूमा गुणस्तरीय शिक्षण सुविधा प्रदान गर्दै आएको छ। शिक्षण–सिकाई प्रक्रियामा सुधार, विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रमहरू, प्रतियोगिता, सेमिनार र कार्यशालाहरू सञ्चालन गरेर क्याम्पसले विद्यार्थीहरूको नेतृत्व क्षमता, सामाजिक चेतना र आत्मविश्वास बढाउने कार्य गरिरहेको छ।
यस क्याम्पसमा अध्ययन गर्ने धेरैजसो विद्यार्थीहरू ग्रामीण, श्रमिक वा निम्न आर्थिक पृष्ठभूमिका परिवारहरूबाट आएका हुन्छन्। क्याम्पसले यिनलाई गुणस्तरीय शिक्षा दिनु मात्र होइन, जीवनमा आत्मनिर्भर बन्न प्रेरणा पनि दिइरहेको छ।
हाम्रो दायित्व:
क्याम्पसको अस्तित्व र प्रगतिको सवाल केवल क्याम्पस प्रशासन, शिक्षक वा विद्यार्थीको मात्र होइन, यो सिंगो समाजको साझा दायित्व हो। हामीले क्याम्पसलाई केवल शिक्षा दिने संस्थाको रूपमा होइन, समाज निर्माणको आधारशिला मान्नुपर्छ। यसका लागि हाम्रो दायित्वहरू यसप्रकार छन्।
सकारात्मक सोच र साथ दिनु:- क्याम्पसमा भइरहेको सुधारात्मक कामको सराहना गर्दै अझ सुदृढ बनाउने सुझाव दिनुपर्छ।
पारदर्शिता र जवाफदेहिताको माग गर्नु:- शैक्षिक तथा प्रशासनिक काममा कुनै कमजोरी देखिएमा सजग भएर प्रश्न गर्नु र सुधारको माग गर्नु हाम्रो कर्तव्य हो।
शिक्षामा लगानी गर्नु:- क्याम्पसको पूर्वाधार, शैक्षिक गुणस्तर र प्रविधिमा सुधारका लागि आर्थिक, भौतिक वा सल्लाहको रूपमा योगदान दिन सकिन्छ।
विद्यार्थीहरूलाई प्रेरणा दिनु:- घरपरिवार, समाज र मिडियामार्फत शिक्षाको महत्व बुझाइ विद्यार्थीलाई प्रोत्साहित गर्नु पर्छ।
प्रचार प्रसार:- क्याम्पसमा भएका, गरिएका,नयाँ सम्भावना, सकारात्मक पक्षको प्रचार प्रसार गरेर यश क्षेत्रको पुरानो शैक्षिक गहनालाई अझ प्रगतिको पथमा लानका लागि प्रचार प्रसारमा ध्यान दिनुअति आवश्यक छ।
निष्कर्ष:-
उर्लाबारी बहुमुखी क्याम्पस एउटा भवन वा संस्था मात्र होइन, यो हाम्रो भविष्यको निर्माण स्थल हो। हामीले यसलाई सुधार्नु छ, सशक्त बनाउनु छ र त्यसका लागि बोल्नु, सहकार्य गर्नु, लेख्नु र आवश्यक परे संघर्ष गर्न पनि पछि हट्नु हुँदैन।
क्याम्पसको उन्नति भनेको उर्लाबारीको सामाजिक, सांस्कृतिक र बौद्धिक प्रगति हो। आउनुहोस्, हामी सबै मिलेर यो साझा धरोहरको संरक्षण, सुधार र समृद्धिमा हातेमालो गरौं।