
उर्लाबारी । मोरङको उर्लाबारी– ५ निवासी मेजर स्वर्गीय हर्कबहादुर तामाङको स्मृतिमा छोरीहरुले १ लाख बराबरको १ सय ३३ वटा किताब किनेका छन् ।
उर्लाबारी–५ निवासी तथा हाल युकेमा बसोबास गर्दै आएका पुष्पा योन्जन, अनु राई र कुशुम योन्जनको सहयोगमा वैज्ञानिक तथा सामाजिक अभियन्ता महाविर पुनको अभियानलाई समर्थन गर्दै एक लाख रुपैयाँ बराबरको १ सय ३३ वटा पुस्तक खरिद गरिएको हो ।
राष्ट्रिय आविष्कार केन्द्रको गतिविधिमा सहयोग पुगोस् भन्ने उद्देश्यले ती पुस्तकहरू खरिद गरिएको छ । पुनको योगदानप्रति सम्मान र प्रेरणा स्वरूप गरिएको यस कार्यमा उर्लाबारीमै रहनुभएका आफन्त पवन थापा र देवीकला तामाङको माध्यमबाट पुस्तक खरिद गरिएको छ । खरिद गरिएको पुस्तक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई वितरण गरिने जानकारी प्राप्त भएको छ । डा.महाविर पुनले पुस्तक खरिद गर्नेप्रति आभार एबं धन्यवाद दिनुभएको छ । डा.महावीर पुनले वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनका लागि आवश्यक रकम जुटाउने उद्देश्यले देशभर पुस्तक बिक्री गर्दै यात्रा गरिरहनुभएको छ । विगत ३० वर्षदेखि बन्द अवस्थामा रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना संचालनको लागि सरकारले वाचा गरे पनि आवश्यक बजेट उपलब्ध नगराएपछि पुनले आफ्नै जीवनीमा आधारित पुस्तक लेखेर त्यसको बिक्रीमार्फत रकम संकलन गर्ने निर्णय गर्नुभएको थियो । पुनद्वारा लिखित ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक विक्री गर्दै देशव्यापी यात्रामा निस्कनुभएको छ । देशका ७७ वटै जिल्लामा पुगेर ३ लाख प्रति पुस्तक बेच्ने लक्ष्यसहित यात्रा गरिरहनुभएका डा. पुनले उर्लाबारीमा हालसम्म २ हजार भन्दा बढी पुस्तक बिक्री गरिसक्नुभएको छ ।