
उर्लाबारी, उर्लाबारी नगरपालिका वडा नम्बर २ स्थित दनुवार टोलको तेली खोलामा नयाँ कल्भर्ट निर्माण कार्य सम्पन्न भएको छ। विहीबार नगर प्रमुख गंगाप्रसाद खरेलले रिबन काटी कल्भर्टको औपचारिक उद्घाटन गरेका छन् ।
पहिलाको जीर्ण कल्भर्ट बाढीले क्षतिग्रस्त भएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको थियो। उक्त समस्यालाई मध्यनजर गर्दै नयाँ बक्स कल्भर्ट निर्माण गरिएको हो। नगर प्रमुख खरेलकाअनुसार जोखिमपूर्ण अवस्थामा हिँडडुल गर्न बाध्य स्थानीयका लागि सुरक्षित पूर्वाधार निर्माण गर्नु नगरपालिकाको प्राथमिकता हो।
यता नगरपालिकाका योजना शाखा प्रमुख विकास दाहालकाअनुसार ३८ लाख ३९ हजार ६१ रुपैयाँ लागतमा सो कल्भर्ट निर्माण सम्पन्न भएको बताए । कुल लागतमध्ये ५१ प्रतिशत रकम नगरपालिका आन्तरिक स्रोतबाट जुटाइएको हो भने बाँकी लागत दातृ संस्था आरआरएन र उपभोक्ताबीचको साझेदारीमा व्यवस्थापन गरिएको उनले बताए । दुई सेलको बक्स कल्भर्टसँगै दायाँबायाँ ह्वीम बाँध र कटान रोक्न स्परसमेत निर्माण गरिएको छ।
कल्भर्ट निर्माणपछि स्थानीयवासी खुसी भएको पाईएको छ । वर्षायाममा बाढीले मानिस तथा पशुचौपायाको आवागमनमा बाधा हुने, विद्यार्थी विद्यालय जान नपाउने र बिरामी हुँदा जोखिम मोलेर खोलो पार गर्नुपर्ने समस्या अब समाधान भएको स्थानीय अगुवा शेरबहादुर भण्डारीले बताए ।
त्यस्तै, स्थानीय छत्रवती दनुवारले पछिल्ला दुई वर्षमा बाढीले बालीनालीमा क्षति पुर्याएको बताउँदै खोलो पार गर्न नसकेर लामो बाटो हिँड्नुपर्ने बाध्यता अब हटेकोमा खुशी व्यक्त गरीन् । जेष्ठ नागरिक धिरेन्द्र श्रेष्ठले बाढीको समयमा घर जान नसकी सडकपेटीमा बास बस्नुपरेको अनुभव सुनाए ।
सो कार्यक्रमको अध्यक्षता वडाध्यक्ष राजनकुमार कडेलले गरेका थिए । उनले कल्भर्टसँगै तटबन्ध निर्माण भएपछि वषौंदेखिको बाढी पीडाबाट स्थानीयवासीलाई राहत मिलेको बताए ।