
उर्लाबारी नगरपालिका रोजगार सेवा केन्द्र तथा रेमी परियोजनको संयोजनमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा स्थानीय जनप्रतिनिधि र कर्मचारीबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई आवश्यक योजना तथा कार्यक्रमको विषयमा जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला पक्षलाई समेटेर विभिन्न सीपमूलक तालिम तथा आत्मनिर्भर बनाउने योजनाहरुका बारेमा छलफल चलाइएको रेमी परियोजनाकी रोजगार परामर्शकर्ता संगिता कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले नेपालमा जुनसुकै क्षेत्रमा अधिक सम्भावनाहरु रहेको उल्लेख गर्नुभयो । ‘पछिल्लो समय हरेक क्षेत्रमा जनताको अपेक्षा अति उच्च रहेको र उपलब्ध स्रोत, साधन, प्रविधिले जनताको त्यो अपेक्षा पुरा गर्न नसक्ने भएकोले जतिसुकै राम्रो गर्ने प्रयत्न गरेपनि जनप्रतिनिधिहरु घेराबन्दीमा पर्ने गरेको, अनावश्यक आरोप खेप्नु परेको उहाँको भनाई थियो ।
जनचाहना र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोगमार्फत समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा नगर प्रमुख खरेलले जोड दिनुभयो । शुक्रबार उर्लाबारी नग।पालिका कार्यालयको सभाहलमा भएको कार्यक्रममा रिटर्नीहरुले कृषि, पशुपालन, अटोमेकानिकलजस्ता विषयमा क्षमता अभिवृद्धि गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुबाट सहज रुपमा ऋण पाउने व्यवस्था गर्नुपर्ने, उत्पादित वस्तुहरुको बजारिकरणको व्यस्था हुनुपर्ने, व्यवसाय संचालनको लागि सहज वातावरण र सीपका कार्यक्र सञ्चालन गर्नुपर्ने माग गरेका थिए । लामो समय खाडी मुलुकमा रही स्वदेश फर्केर व्यवसाय गर्दै आएका उर्लाबारी ६ का जनक सिग्देलले रिटर्नीहरुले आफुले जे जानेको छ त्यहि क्षेत्रमा लगानी गर्ने र मिहिनेत गर्ने हो भने नेपालमै प्रशस्त सम्भावनाहरु रहेको अनुभव सुनाउनुभयो । कार्यक्रममा सहभागी अन्य रिटर्नीहरुले आफुले मुलुकभित्रै यवसाय वा रोजगारीका अन्य क्षेत्रमा काम गर्दा आइपरेका समस्या, नेपालमा उद्यम गर्दाका सम्भावना र चुनौतीका बारेमा चर्चा परिचर्चा गरेका थिए । नगर उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, नगरपालिकाका वडाध्यक्षहरु चिन्तामणि पौडेल, कुलबहादुर कार्की उर्मिला थापा, तिलक पाण्डे, कल्याणकुमार राई, नरबहादुर मोक्तान, कार्यपालिका सदस्यहरु कल्पना रोक्का, सीता बुढाथोकी, मनमाया तामाङ, कृष्णमाया कडरियालगायत जनप्रतिनिधिहरु तथा नगरपालिकाका शाखागत कर्मचारीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक नगरपालिकाकी रोजगार शाखा प्रमुख विनिता शर्माले उद्यमशिलतालाई मूल बाटो बनाउदै रिटर्नी संजालमार्फत उत्पादनलाई उपभोक्तासंग जोड्ने, बैंक तथा बित्तिय संस्थाहरुसंग समन्वय गरी रिटर्नी उद्यमीहरुलाई बैंकिङ प्रक्रियामा सहजता प्रदान गर्ने, बिषयगत रुपमा रिटर्नी उद्यमी व्यवसायीहरुसंग नियमित रुपमा बहस र अन्तरक्रिया गर्दै समस्या समाधानका लागि सरोकारवाला निकायसंग समन्वय गर्ने तथा नीतिगत व्यवस्थाका लागि आवस्यक पहलकदमी लिने सवालमा रोजगार शाखाले गृहकार्य गरिरहेको बताउनुभयो ।
रेमी परियोजनाकी रोजगार परामर्शकर्ता संगिता कार्कीले कार्ययोजना, हालसम्म गरिएका प्रगतिसहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रेमी परियोजनाकी परिवार परामर्शकर्ता रुपा न्यौपाने, सामाजिक परिचालक किरण राईले सहजीकरण गरेका थिए ।