
उर्लाबारी, उर्लाबारी नगरपालिकाले नगरमै पहिलो लिफ्ट सहितको सामुदायिक भवन संचालनमा ल्याएको छ ।
सोमबार नगर प्रमुख गंगाप्रसाद खरेल तथा उपप्रमुख मीना खतिवडा पौडेलले अपाङ्गमैत्री भवनको संयुक्त रुपमा समुद्घाटन गर्नुभयो । अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि नगरपालिकाले भवन निर्माण संचालनमा ल्याएको हो । उर्लाबारी–३ स्थित रामनगर टोल पूर्वमा निर्माण सम्पन्न भएको यो भवन नगरमै पहिलो आधुनिक सुविधा सम्पन्न सामुदायिक संरचना हो ।
उक्त भवनमा लिफ्ट जडान गरिएको छ जसले गर्दा शारीरिक अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अन्य सेवाग्राहीहरूलाई आवागमनमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र सहजीकरणका लागि समर्पित यो भवनले सामाजिक समावेशीताको दृष्टिकोणलाई अझ सुदृढ बनाउने विश्वास गरिएको नगर प्रमुख गंगाप्रसाद खरेलले बताउनु भएको छ ।
नगरपालिकाले भवनमार्फत अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम, तालिम, छलफल र सेवा केन्द्र सञ्चालन गर्ने योजना अघि सारेको छ। यसले उनीहरूको सामाजिक, आर्थिक तथा मानसिक सशक्तीकरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।