
उर्लाबारी । मोरङको उर्लाबारीमा ‘एआई प्रविधि र साइबर अपराध’ सम्बन्धि २ दिने सचेतना तालिम सुरु भएको छ ।
सञ्चार क्लब नेपाल, उर्लाबारी मोरङको आयोजना तथा कोशी प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सो तालिम सुरु भएको हो । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक (डीएसपी) ध्रबबहादुर श्रेष्ठले पहिलो दिन सहजीकरण गर्नुभएको छ । तालिममा एआई (कृत्रिम बौद्धिकता) को वर्तमान प्रयोग, पत्रकारितामा यसको सकारात्मक पक्ष र साइबर अपराधको जोखिमबारे प्रष्ट रुपमा जानकारी दिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले एआई र साइबर प्रविधिको प्रयोगबारे सकारात्मक दृष्टिकोण राख्न आग्रह गर्नुभयो ।
त्यस्तै, राजनीतिक दलका प्रतिनिधिका रूपमा नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगालले उर्लाबारीको समृद्धि र सुशासनमा पत्रकारको कलमको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभएको छ ।
त्यस्तै, उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणि पौडेलले सत्यतथ्यमा आधारित समाचार लेख्न आग्रह गर्दै राज्यले पत्रकारहरूका लागि रोजगार सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै, क्लबका पूर्व अध्यक्ष नवराज भट्टराईले तालिमको उद्देश्य र महत्वबारे प्रष्ट पार्नुभएको छ । कार्यक्रमका सञ्चार क्लब नेपाल, उर्लाबारीका अध्यक्ष कुमार खड्काको सभापतित्वमा भएको उक्त तालिममा ४० जना सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चार क्लब नेपालका पूर्व अध्यक्ष घनश्याम भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुमन घिमिरेले राख्नुभयो ।