उर्लाबारी,गत माघ २० गते राति उर्लाबारी चोकमा संचालित मोबाइल वर्ल्ड पसलबाट चोरी भएका मोबाइलमध्ये ५ थान मोबाइल भारतमा फेला परेका छन्।
उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ लिम्बूका अनुसार ती मोबाइल भारतको उत्तरप्रदेशस्थित हापुर र बुलन्दशहर थानाबाट फेला परेका हुन्। हापुर थानाका जुनियर ईन्चार्ज कुलदीप सिंह र बुलन्दशहर थानाका जुनियर ईन्चार्ज पवन सिंहको सहकार्यमा ३ थान र २ थान गरी जम्मा ५ थान मोबाइल बरामद गरिएको लिम्बूले जानकारी दिए ।
बरामद गरिएका मोबाइल बुझ्नका लागि अध्यक्ष लिम्बू स्वयं बुधबार भारत गएका थिए। शुक्रबार दिउँसो ती मोबाइल उनले बुझिलिएका छन् ।
उनी हाल मोबाइलसहित उर्लाबारी फर्किदै छन्। पूर्वी प्रेससँगको टेलिफोन सम्पर्कमा उनले भने, “ म शनिबार बेलुकासम्म फर्किनेछु । आईतबार बिहान ति मोबाइल सम्बन्धित पसलमा हस्तान्तरण गरिनेछ।”
मोवाईल वर्ल्डबाट सटर खोलेर करिव ४ करोड बढीको चोरी भएको थियो। घटनापछि अनुसन्धान जारी रहँदा फागुन २३ गते कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीको संयुक्त टोलीले ३२ थान मोबाइल बरामद गरेको थियो।
तीमध्ये २० थान मोबाइल मोबाइल वर्ल्डको, ११ थान नवलपरासीमा भएको चोरीका र १ थान दमकमा चोरी भएको मोबाइल रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय