उर्लाबारी । कतिपय जनप्रतिनिधि पदमा पुगेपछि मौन बस्न थाल्छन् । न जनताको आवाज हुन्छ, न जनताका पीडाप्रति चासो । तर, कोशी प्रदेशसभामा एक यस्ता सांसद् हुनुहुन्छ, जसले न त आफ्नो पदको जिम्मेवारी बिर्सिनुभयो, न जनताका सवालहरू ओझेलमा पर्न दिनुभयो । उहाँ हुनुहुन्छ – कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वा ।
नेपाली कांग्रेसबाट समानुपातिकतर्फबाट सांसद बन्नुभएकी उहाँ निरन्तर संसदमा जनताको पक्षमा बोल्दै आउनुभएको छ । कोशी प्रदेशसभामा ३६ पटक जनसरोकारका विषय उठाइसक्नुभएकी पालुङ्वा सदनमा बोल्ने मात्र होइन, तथ्यसहित र जिम्मेवार ढङ्गले आवाज उठाउने सांसद्का रूपमा परिचित हुनुहुन्छ । चाहे शून्य समय होस् वा विशेष समय, चाहे प्राकृतिक विपद्को सवाल होस् वा नीति निर्माणको प्रक्रिया–पालुङ्वाले सक्रिय रूपमा आफ्नो आवाज बुलन्द गरिरहनुभएको छ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी सचेतकसमेत रहनुभएकी पालुङ्वा उर्लाबारी–५ निवासी हुनुहुन्छ । संसदमा जनताको आवाज बुलन्द गर्नुको साथ विकास निर्माणलगायतका योजना ल्याउनसमेत पहलकदमी गर्दै आउनुभएको छ । शालिन छविकी पालुङ्वा नेपाली कांग्रेस महासमिति सदस्य हुनुहुन्छ । उहाँ नेपाल महिला संघको केन्द्रीय सदस्य भई काम गरिसक्नुभएकी उहाँ महिला सशक्तिकरणका सवालमा सशक्त आवाज उठाउँदै आउनु भएको छ । पालुङ्वा महिला अधिकारकर्मीको रुपमा परिचित हुनुहुन्छ । पालुङ्वा एकल महिला हुनुहुन्छ । कांग्रेस क्षेत्रीय सभापति रहनु भएका उहाँका श्रीमान सनम पालुङ्वाको अल्पायुमै निधन भएपछि राजनीतिमा होमिनु भएको थियो । हाल एक छोराका साथमा जीवन निर्वाह गर्दै आउनुभएकी उहाँ कांग्रेस राजनीति र महिला हकहितका सवालमा आफूलाई समर्पित गरेको बताउनुहुन्छ । सरल र मिलनसार स्वभावकी पालुङ्वा अप्ठयारोमा परेका जोकोहीलाई सकेको सहयोग गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय