
उर्लाबारी । जेनजी आन्दोलनको क्रममा जलेर खरानी बनेका भवनहरू, अव्यवस्थित बनेका कार्यालयहरू र संकटको चपेटामा परेका समुदाय—सबैले यहाँको जीवनलाई चुनौतीपूर्ण बनाएका छन् । यिनै कठिन क्षणहरूमा अरनिको हस्पिटल स्थानीय सरकार, समुदाय र सुरक्षाकर्मीहरूसँगै उभिएर एउटा नयाँ आशा बोकेको छ ।
बिहीबार हस्पिटलका अध्यक्ष लोलिम पोमु र सचिव रञ्जित पोमुले उर्लाबारी नगरपालिका वडा नं. ९ को कार्यालयलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्नुभयो । क्षतिग्रस्त प्रशासनिक कार्यलाई पुनः सहज बनाउन यो सहयोग जीवन्त सहारा बनेको छ । वडाध्यक्ष नरबहादुर मोक्तानले हस्पिटलप्रति कृतज्ञता व्यक्त गर्दै भन्नुभयो ‘विपद्को घडीमा पाउनु भएको साथले कार्यालयलाई फेरि उठ्न आत्मबल दिएको छ ।’
त्यस्तै, वडा नं. ७ का वडाध्यक्ष उर्मिला थापालाई पनि हस्पिटलले एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । अध्यक्ष पोमु कार्यालय पुगेर कम्प्युटर हस्तान्तरण गर्नुभएको हो ।प्रशासन मात्र होइन, समुदायलाई पनि आत्मबल दिन हस्पिटलले उर्जाशिल सरसफाई समूहलाई ५० थान टिशर्ट उपलब्ध गराएको छ ।
समूहका अध्यक्ष देबेन्द्र श्रेष्ठलाई अध्यक्ष पोमुले टिशर्ट हस्तान्तरण गर्नुभएको छ । यसअघि उर्लाबारी र पथरीका मोची पेशामा संलग्न १२ जनालाई ठूलो छाता र ज्याकेट वितरण गरेर उनीहरूको श्रमलाई सम्मान गरेको थियो । आन्दोलनमा सबैभन्दा बढी दबाब खेप्ने इलाका प्रहरी कार्यालय उर्लाबारीलाई पनि हस्पिटलले ३२ इन्चका दुई टेलिभिजन, दुई थान स्टेण्ड फ्यान र आठ थान सिलिंग फ्यान प्रदान गरेको थियो । तातो मौसम र कठिन ड्युटीबीच यो सहयोग सुरक्षाकर्मीका लागि महत्वपूर्ण राहत बनेको छ ।
हस्पिटलले उर्लाबारी नगरपालिकालाई ५१ हजार रुपैयाँ नगद सहयोग गर्ने भएको छ । सचिव रञ्जित पोमुका अनुसार, यस वर्ष मात्र हस्पिटलले करिब चार लाख रुपैयाँ बराबरको सहयोग सामाजिक क्षेत्रमा गरेको छ ।
जेनजी आन्दोलनले धेरैलाई पीडा र निराशा दिएको बेला, अरनिको हस्पिटलले देखाएको सक्रियता केवल भौतिक सहयोग मात्र होइन—यो समुदायलाई संकटमा नछोड्ने प्रतिबद्धता हो । यो प्रतिबद्धताले उर्लाबारीलाई पुनः उठ्न प्रेरणा दिएको छ, र एउटा सन्देश पनि दिएको छ—‘सामाजिक उत्तरदायित्व केवल शब्द होइन, जीवन्त अभ्यास हो ।’