मोरङ । मिक्लाजुङ गाउँपालिकामा बक्राहा–नुनसरी नदीको बाढीले तटबन्ध कटान गरेपछि स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय र बासिन्दाको संयुक्त सक्रियतामा अस्थायी तटबन्ध निर्माण गरिएको छ ।

गाउँपालिका अध्यक्ष बबि कुमार राईको नेतृत्वमा वडा नं. ६ का वडाध्यक्ष खडि मगर, वडा नं. ८ का वडाध्यक्ष पुर्ण बहादुर कुवंर, जनप्रतिनिधि, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीहरूको जनश्रमदानबाट शनिबार अस्थायी रूपमा तटबन्ध निर्माण गरिएको हो ।

लगातारको वर्षापछि बक्राहा–नुनसरी नदीमा पानीको बहाव बढ्दा तटबन्धका केही भाग कटान भएपछि वरपरका बस्तीमा बाढीको जोखिम बढेको थियो । तत्कालीन जोखिम न्यूनीकरणका लागि स्थानीयस्तरमै आपतकालीन तटबन्ध निर्माणको पहल गरिएको अध्यक्ष राईले बताउनुभयो ।

अध्यक्ष राईका अनुसार स्थानीय जनश्रमदान र सुरक्षाकर्मीको सहयोगमा तत्काल प्रभावित क्षेत्रको कटान रोकी नदीको बहावलाई नियन्त्रण गर्ने प्रयास गरिएको छ । उहाँले थप स्थायी तटबन्धका लागि शीघ्र प्रदेश र संघीय निकायसँग समन्वय भइरहेको पनि जानकारी दिनुभयो ।

स्थानीय बासिन्दा मणि तामाङका अनुसार पालिकाको पहल र स्थानीय सहकार्यले तत्काल बाढीको जोखिम घटेको छ । “सबैले हातेमालो गरेर ढुंगा, बालुवा, बोरा लगाएर तटबन्ध बाँध्यौं,” उहाँले भन्नुभयो, “यसले अहिलेका लागि राहत दिएको छ, तर स्थायी समाधान चाहिन्छ ।”

मिक्लाजुङ गाउँपालिकाले अबको योजना अन्तर्गत दिगो तटबन्ध निर्माण, नदी नियन्त्रण तथा जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित पुनर्स्थापनाका काम अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय