मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाँडै नेपालमा संबैधानिक राजसंस्थासहितको शासन व्यवस्था स्थापित हुने दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उनले नेपाल र नेपाली नागरिकले अब राजसंस्थाको आवश्यकता गहिरो रूपमा महसुस गरिरहेको बताएका छन् ।

उनले हाल भइरहेको जेनजी आन्दोलन पश्चिमाहरुको डिजाइनमा भएको आरोप लगाउँदै २०४७ सालको संविधान पुनःस्थापना गर्नु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे । प्रसाईले भने, “नेपालमा फेरि राजसंस्था, धर्म र संस्कृतिको पुनर्जागरण हुनुपर्छ । २०४७ सालको संविधानको पुनःस्थापना नेपाल र छिमेकी मुलुकका लागि पनि अपरिहार्य भइसकेको छ ।”

प्रसाईले गणतन्त्रपछि देश क्रमशः गिरावटतर्फ गएको दाबी गर्दै गणतान्त्रिक नेताहरूमाथि पनि प्रहार गरे । उनले भने, “गणतन्त्र हुँदै गिरिजा, देउवा, प्रचण्ड, ओली हुँदै आज जेनजी आन्दोलनको नाममा पश्चिमाहरुको डिजाइनमा बालेनजस्ता लुसिफर र सुशिला कार्कीको सरकार बनेको छ ।”

उनले नेपाली सेना, प्रहरी र कर्मचारीलाई ठाडो निर्देशन दिने प्रवृत्तिप्रति पनि आपत्ति जनाए । प्रसाईले जनतालाई “राजा, धर्म र संस्कृतिको पुनःस्थापनाका लागि धैर्य गर्न” आग्रह गर्दै भने, “अब संबैधानिक राजसंस्था सहितको व्यवस्था आउँदैछ, हातमा दियो बोकेर दीपावली गर्न तयार रहनुहोस् ।”

साथै, उनले लघुवित्त तथा सहकारी पीडित, बैंकबाट कालो सूचीमा परेका र घरजग्गा लिलामीमा परेका अभियन्ताहरुलाई काठमाडौँ केन्द्रित भई देशभर आन्दोलनका लागि तयार रहन आह्वान गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय