उर्लाबारीस्थित तेली र सुनझोडा खोलाहरूबाट नदीजन्य पदार्थ (ढुंगा) को चोरी निकासी भएपछि नगरप्रमुख सहितको टोली ‘एक्सन’मा उत्रिएको छ । केही महिनादेखि खोलाहरूबाट चोरिएको ढुंगाहरु अवैधरुपमा डम्पिङ (घाटगद्दी) गरेर राख्ने गरेको भेटिएको छ । उर्लाबारी १ स्थित कान्छिचौक र वडा नम्बर २ को सुनझोडा खोला आसपास खेतबारीमा ढुंगाको घाटगद्दी असरल्ल फेला परेका छन् । उर्लाबारी नगरपालिकाले गत दशैं अघि नै ढुंगाको थुप्रोमा रातो झण्डा गाडेर अवैध घाटगद्दीलाई नियन्त्रणमा लिएपनि चोरी तस्करीमा संलग्नहरुको पहिचान हुन सकेको थिएन । चोरी गरी निकालिएका नदीजन्य पदार्थ खोला नजिक डम्पिङ गरेर राख्ने गरेको पाइएको र त्यसलाई जफत गर्ने प्रक्रिया अघि बढाइएको नगर प्रमुख गंगाप्रसाद खरेलले बताउनुभयो । ‘कसले चोरी गरेर ढुंगा थुपारेको हो पत्ता लगाएर लिलामी गर्छौं’ नगर प्रमुख खरेलले भन्नुभयो, त्यसका लागि जिल्ला वनसँग समन्वय भइरहेको छ ।
बुधबार नगर प्रमुख खरेल, सव डिभिजन वन कार्यालय मंगलबारेका प्रमुख नवीनराज दाहाल, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रञ्जन बरालसहित सशस्त्र, नेपाल प्रहरी, वन रक्षक र नगर प्रहरीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । प्रहरी निरीक्षक रञ्जन बरालले नदीजन्य पदार्थ चोरी निकासी नियन्त्रणका लागि कारबाहीलाई तीब्र पारिएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय