
धनकुटा । महालक्ष्मी नगरपालिका, धनकुटाले नेपाल सरकारको हालैको निर्देशन अनुसार दरबन्दी बाहेकका सबै अस्थायी, करार र दैनिक ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूको नियुक्ति तथा सेवा सम्झौता रद्द गर्ने निर्णय गरेको छ।
नगरपालिकाको पत्र संख्या ०८२/०८३ र चलानी नं. ९२६ अनुसार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (पत्र नं. ११३, मिति २०८२।०६।०८) र अर्थ मन्त्रालय (पत्र नं. ११८, मिति २०८२।०६।०७) का पत्रहरूको आधारमा नेपाल सरकार (मन्त्रीपरिषद्) को २०८२।०६।०५ गतेको बैठकले यस्तो निर्णय गरेको हो।
निर्णय अनुसार, नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा बाल विकास केन्द्रहरूमा कार्यरत दरबन्दी बाहेकका अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीहरूका नियुक्ति र सम्झौता मिति २०८२।०७।०१ गतेदेखि रद्द हुने भएको छ।
नगर प्रमुख प्रशासकीय अधिकृत चुडामणी गुरागाईंले जारी गरेको सूचनामा उल्लेख छ कि यो निर्णय नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहहरूमा स्वीकृत दरबन्दी बाहेक नयाँ नियुक्ति वा करार गर्न नपाइने निर्देशनअनुसार गरिएको हो।
यस निर्णयबाट नगरभित्रका विभिन्न कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा कार्यरत सयौं अस्थायी तथा करारकर्मी प्रभावित हुने भएका छन्।