मोरङ, मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोल सोमबार साँझ अचानक चर्चामा आयो—कारण सामान्य झगडा होइन, एउटा भयावह घटना । ३२ वर्षीय एक पुरुषको लिंग काटिएको घटनाले स्थानीय मात्र होइन, समग्र समाजलाई स्तब्ध बनाएको छ ।

प्रहरीका अनुसार जहदा गाउँपालिका–३ निवासी ती पुरुष आफ्नो महिला साथीलाई भेट्न कटहरी पुगेका थिए । तर, भावनाको तातो क्षण भयावह हिंसामा बदलियो । ती महिलाले धारिलो हतियार प्रयोग गर्दै पुरुषको लिंग काटिदिएकी थिइन् ।

घाइते पुरुषलाई तत्काल कोशी अस्पतालमा पु¥याइयो, तर अवस्था गम्भीर भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा रेफर गरियो । चिकित्सकका अनुसार धारिलो हतियारको प्रहारले लिंगमा गहिरो चोट लागेको छ र “चुँडिन लागेको अवस्थामा” उपचार भइरहेको छ ।

प्रहरी अनुसन्धानले घटना केवल आकस्मिक झगडा नभई “सम्बन्धजन्य विवाद” बाट उत्पन्न भएको संकेत गरेको छ । ती महिला कटहरीकै आदर्श टोलमा डेरा गरी बस्दै आएकी थिइन् । पुरुष विवाहित थिए र उनका श्रीमतीसहित तीन सन्तान छन् ।

स्थानीयहरू भन्छन्, “दुवैबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो, तर पछिल्ला दिनमा मनमुटाव बढेको सुनिन्थ्यो ।”
त्यो मनमुटाव अन्ततः हिंसामा परिणत भयो । घटनापछि महिला पनि बेहोस भएकी थिइन् र उनलाई पनि उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको थियो । अहिले प्रहरी नियन्त्रणमा रहेकी ती महिलासँग प्रारम्भिक बयान लिइँदैछ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल भन्छन् —“प्रारम्भिक अनुसन्धानले सम्बन्धजन्य विवादकै कारण घटना भएको देखिएको छ । तर घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ ।” यो घटना केवल व्यक्तिगत दुःखान्त होइन, समाजका लागि पनि एउटा चेतावनी हो । प्रेम, धोका, स्वामित्व र प्रतिशोधबीचको सीमारेखा कहिले र कहाँ टुट्छ भन्ने प्रश्नले फेरि एकपटक हाम्रो मूल्य प्रणालीलाई हल्लाएको छ ।

सामाजिक सञ्जालमा यस घटनाप्रति मिश्रित प्रतिक्रिया आएका छन् । कोही यो घटनालाई “महिलाको आवेगपूर्ण प्रतिशोध” भन्छन्, कोही “अत्यधिक हिंसात्मक प्रवृत्तिको चिन्ह” । तर सबैको साझा निष्कर्ष एउटै छ — सम्बन्धमा जिम्मेवारी र संयमको अभावले कसरी ज्यान–ध्यान दुवै जोखिममा पार्न सक्छ ।  यसको मूलमा एउटा ठूलो सामाजिक पाठ लुकेको छ —प्रेम र विश्वास जति गहिरो हुन्छ, त्यसको भङ्ग त्यति नै विनाशकारी हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय