
मोरङ । फुटबल मैदानमा सधैं आत्मविश्वास र मुस्कानसहित दौडिने मोरङ उर्लाबारीकी पूर्णिमा राई अहिले राष्ट्रिय स्तरमा आफ्नो परिचय बनाउँदैछिन् । एक समय गाउँको धुलाम्मे मैदानमा साथीहरूसँग खेल्दै सुरु भएको उनको फुटबल यात्रा आज महिला राष्ट्रिय टिमसम्म पुगेको छ ।
साफ यू–२० च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता बनेपछि पूर्णिमाको नाम राष्ट्रिय स्तरमा चर्चाको शिखरमा पुगेको थियो । उनी मैदानमा निडर, छरिता र आक्रामक फिनिशिङका कारण ‘गोलमेसिन’ भनेर चिनिन्छिन् । यही प्रदर्शनका कारण अहिले उनले पहिलो पटक सिनियर महिला राष्ट्रिय टिममा स्थान बनाउन सफल भएकी हुन् ।
पूर्णिमाले फुटबल यात्रा उर्लाबारीको स्थानीय टिमबाट सुरु गरेकी थिइन् । लगनशीलता र कडा मेहनतका कारण उनलाई संकटा क्लबले आफ्नो टिममा मौका दियो । त्यही अवसरले उनको खेललाई अझ परिष्कृत बनायो र राष्ट्रिय चयनकर्ताको नजरमा परिन् । ‘मैले सानो उमेरदेखि नै फुटबललाई जीवनको हिस्सा बनाएकी छु,’ पूर्णिमा भन्छिन्, ‘राष्ट्रिय टिममा पुग्नु मेरो सपना थियो, अब त्यो पूरा भएको छ ।’ पूर्णिमाको सफलता उर्लाबारीका खेलप्रेमीहरूका लागि गर्वको विषय बनेको छ । अब उनी राष्ट्रिय टिमको जर्सीमा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो खेलमार्फत देशको नाम उज्यालो पार्ने तयारीमा छिन् । मेहनती, लक्ष्यमा अडिग र आत्मविश्वासी पूर्णिमा राई अहिले उर्लाबारी मात्र होइन, नेपालको फुटबलकी नयाँ आशा बनेकी छन् ।