नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जारी केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरेका छन्।
बिहीबार बसेको बैठकमा प्रस्तुत गर्ने एजेन्डाबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग कुरा नमिलेपछि महामन्त्री थापा बैठकस्थलमा प्रवेश नगरी बाहिरिएका एक केन्द्रीय सदस्यले जानकारी दिए। थापा आजको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारीमा थिए। उनले मंसिर महिनामा विशेष महाधिवेशन गर्ने प्रस्ताव तयार पारेका थिए। उक्त प्रस्ताव आजको बैठकमा पेस गर्नेगरी कार्यवाहक सभापति खड्कासँग कुराकानीसमेत गरेका थिए। महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले कार्यवाहक सभापति खड्कासँग सो विषयमा अनौपचारिक कुराकानी गरेपनि खड्का सहमत नभएको स्रोतले जनाएको छ।























