झापा । गत कात्तिक ९ गतेदेखि बेपत्ता झापाका सरोज शर्माको हत्या गरिएको पुष्टि भएको छ । उनको शव शनिबार बिहान झापा गाउँपालिका–५ मा पर्ने हुलाकी राजमार्ग अन्तर्गत विरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार शव कपडासहित गाडिएको र माथिबाट टिनले छोपिएको अवस्थामा भेटिएको थियो । घटनाको प्रकृति हेर्दा हत्या ३–४ दिनअघि नै भएको अनुमान गरिएको छ ।
यसअघि बिहीबार बिहान मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र शर्माकै नाममा दर्ता प्रदेश ०१–०३ च ७१९४ नम्बरको कार जलेको अवस्थामा फेला परेको थियो । कार भेटिएको स्थान र शव फेला परेको ठाउँबीच करिब २० किलोमिटर दूरी रहेको प्रहरीले जनाएको छ ।
३३ वर्षीय शर्मा कात्तिक ९ गते साथीलाई भेट्न जाने भन्दै आफ्नै कारमा घरबाट निस्केका थिए तर उनी फर्किएनन् । बेपत्ता भएको भोलिपल्ट आफन्तले प्रहरीमा जानकारी दिएका थिए । शर्मा हाल काठमाडौंमा आईटी क्षेत्रसँग सम्बन्धित काम गर्दै आएका थिए र दशैं–तिहार मनाउनका लागि गृह जिल्ला झापा आएका थिए ।
घटनासँग सम्बन्धित आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक जनाको हात जलेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । प्रहरीले पक्राउ परेकाहरुसँग सोधपुछ भइरहेको छ, अनुसन्धान जारी रहेको जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार, हत्यामा संलग्नहरु लागुऔषध प्रयोगकर्ता हुनसक्ने देखिएको छ । तर, हत्याको ठ्याक्कै कारण भने खुल्न बाँकी छ । शव फेला परेपछि माईधार क्षेत्रका स्थानीय आक्रोशित बनेका छन् । शनिबार बिहान मृतकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका राहुल साहको घरमा तोडफोड गरिएको छ । साथै, शव बोक्न प्रयोग गरिएको आशंकामा एउटा टेम्पो पनि तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । शव पोस्टमार्टमका लागि पठाइएको छ ।
























