झापा, झापाको शिवशताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको हत्यामा सम्लग्नलाई प्रहरीले पक्राउ गर्दै आइतवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलनको आयोजना गर्दै शर्माको हत्यामा सम्लग्नलाई प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काका अनुसार शर्माको हत्या सोही ठाउँका २७ वर्षीय सुनिल साह र २३ वर्षीय राहुल साहले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । उनको हत्यामा सम्लग्न अर्का एक जना भारतीयसमेत रहेको र उनी फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
घटना बिवरण अनुसार शर्मा काठमाडौं बस्तै आएका र सस्तोमा सुन पाए आफूले पनि किन्ने र काठमाडौंमा चिनेजानेका मानिसलाई पनि किनिदिने भन्दै एक महिना अघि सुनिल साहलाई भनेसंगै हत्यामा सम्लग्नले उनीसंग भएको पैसा लुट्ने योजना बनाएका थिए ।
त्यसका लागि उनीहरुले शर्मालाई गत कात्तिक ९ गते आफूहरुले सुन ल्याएको भन्दै देखाउन लगेको र सोही दिन उनको हथौडा प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
सुनको कारोबारको बहानामा शर्माको अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ । शर्माको हत्याका लागि उनीहरुले अर्जुनधारा नगरपालिका–४, दहिझोडा सामुदायिक वनमा पु¥याएर टाउकोमा हथौडा प्रहार गर्दै मारेको र शर्माकै सवारी साधन बा.प्र.०१–३० च ७१९४ नम्बरको गाडी प्रयोग गरेर उनको शव झापा गाउँपालिका–५, हुलाकी मार्गस्थित बिरिङ खोलाको पुलमुनि गाडिएको बताइएको छ ।
हत्यामा सम्लग्नले शर्मालाई कात्तिक ९ गते नै मारेको प्रहरी समक्ष बयान दिएको प्रहरीद्वारा वितरित विज्ञप्तिमा उल्लेख छ ।
कात्तिक ९ गतेबाट हराएका शर्मा फेला नपरेपछि उनका परिवारले प्रहरीलाई जानकारी गराएको र खोजतलाशको क्रममा उनको सवारी साधन कात्तिक १३ गते मेचीनगर १३, निचाझोडा सिमसार क्षेत्रमा जलिरहेको अवस्थामा फेला परेको थियो।
यता शव कात्तिक १५ राति १ बजे झापा गाउँपालिका–५, हुलाकी मार्गस्थित बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शर्माको हत्यामा सम्लग्न अभियुक्तहरूमा सुनिल र राहुल नातामा मामा भान्जा हुन् ।
पक्राउ परेका अभियुक्त मध्ये सुनिलले शर्मालाई आफूले भारतबाट सुन ल्याएको र गाढेर राखेको भन्दै ललाई फकाई अर्जुनधारा ४ स्थित दहिझोडा सामुदायिक बन पु¥याएका थिए ।
प्रहरीका अनुसार अभियुक्तहरूले सोधपुछमा अपराध स्वीकार गरेको बताइएको छ ।
यता शर्माको शव पोष्टमार्टमका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पक्राउ परेका दुवैजना उपर अपहरण, शरीर बन्धक, अपराधिक प्रवेश तथा आपराधिक उपद्रव तथा ज्यान सम्वन्धि कसुरमा जिल्ला अदालत झापाबाट ७ दिनको अनुसन्धान म्याद लिएर थप अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।
पक्राउ परेका मध्ये सुनिल विराटनगर महानगरपालिलकाको सिमावर्ती क्षेत्र रानीमा कोशी प्रदेश प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको र राहुललाई भने निजको घरैबाट पक्राउ गरिएको बताइएको छ ।
























