उर्लाबारी । कोशी प्रदेश खेलकुद विकास बोर्ड र जिल्ला खेलकुद विकास समिति मोरङबीच लामो समयदेखि चलिरहेको पदावधि विवाद अन्ततः अदालतको निर्णयसँगै समाप्त भएको छ। उच्च अदालत विराटनगरले शुक्रबार गरेको आदेश अनुसार जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्रकुमार योञ्जन तामाङ नै पदमा निरन्तर रहने भएका छन्।
मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई र न्यायाधीश विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले दुवै पक्षको बहसपछि योञ्जनको नियुक्ति वैध रहेको ठहर गर्दै उच्च अदालतले यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो।
अदालतको आदेश अनुसार योञ्जनलाई २०८० साल चैत २३ गते मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गरिएको थियो र सो नियुक्ति वैधानिकरूपमा चार वर्षका लागि रहेको स्पष्ट गरिएको छ।
यसअघि कोशी प्रदेश खेलकुद विकास बोर्डले असोज २६ गते १४ वटै जिल्लाका अध्यक्ष र उपाध्यक्षहरूको पदावधि कात्तिक ३ गते सकिने भनी पत्र पठाएको थियो। तर, योञ्जनले आफ्नो कार्यकाल बाँकी छँदै आफूलाई हटाउने प्रयास भएको भन्दै अदालतमा रिट दर्ता गरेका थिए।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश गणेश ठाकुरको इजलासले बोर्डको पत्र तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो। अन्ततः शुक्रवार अदालतले योञ्जनको पदावधि कायमै रहने निर्णय सुनाएको हो।
योञ्जनका तर्फबाट अधिवक्ता प्रेमकुमार घिमिरेले बहस गरेका थिए भने विपक्षी बोर्डको तर्फबाट उपन्यायाधिवक्ता पदमप्रसाद वस्ती, सहायक न्यायाधिवक्ता सन्दिप टेलर र अधिवक्ता अन्ताज हुसेनले बहस गरेका थिए।
निर्णयपछि आफ्नो प्रतिक्रिया दिंदै अध्यक्ष इन्द्रकुमार योञ्जन तामाङले भने “अदालतले न्याय दिएको छ। अब हामी मोरङमा खेलकुदको विकासमा पूर्ण ध्यान केन्द्रित गर्नेछौं।”
उर्लाबारी निवासी तामाङलाई यसअघि पनि राजनीतिक हस्तक्षेपका कारण विवादमा पार्ने प्रयास भएको थियो। खेलकुद क्षेत्रका विज्ञहरूले यो निर्णयलाई खेल क्षेत्रको स्वायत्तता र संस्थागत निरन्तरताको जीतका रूपमा व्याख्या गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय