फाल्गुनन्द जयन्तीको अवसरमा मोरङको उर्लाबारी–३ मा ‘विराट टिचिङ प्रथम मंगलबारे क्रस कन्ट्री रन–२०८२’ आयोजना हुँदैछ । प्रतियोगिताबारे थप जानकारीका लागि आयोजक समितिका सचिव नुतन राईसँग गरिएको छोटो कुराकानी ः
यो प्रतियोगिता आयोजना गर्ने उद्देश्य के हो?
–हाम्रो मुख्य उद्देश्य उर्लाबारीका युवाहरूलाई खेलकुदमा सक्रिय बनाउने हो । स्थानीय धावकहरूका लागि आर्थिक कोष स्थापनासँगै उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउने अवसर दिन चाहेका हौं ।
प्रतियोगितामा कस्तो सहभागिता रहने अपेक्षा गर्नुभएको छ ?
–नेपालका विभिन्न जिल्ला साथै भारतको मिरिक र सिलगुडीबाट पनि धावकहरू सहभागी हुँदैछन् । अधिकतम ३५० जनालाई मात्र सहभागी गराइनेछ ।
दौडको दूरी र मार्ग कस्तो रहनेछ ?
–दौड मंगलबारे चोकबाट सुरु भएर केरखाली, सिरुझार, सुनझोडा, शान्ति आधारभूत, सालबारी रंगशाला हुँदै पुनः मंगलबारे चोकमा समाप्त हुनेछ । खुला समूहका लागि ११ किलोमिटर र यू–१५ तथा भेट्रान समूहका लागि ५ किलोमिटर दूरी तय गरिएको छ ।
पुरस्कार र सुविधाको व्यवस्था कस्तो छ ?
–विजेताका लागि नगद, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । खुला समूहका प्रथम, द्वितीय र तृतीय विजेताले क्रमशः १० हजार, ७ हजार ५ सय र ५ हजार पाउनेछन् । यू–१५ र भेट्रान समूह दुबैतर्फ प्रथम हुनेलाई ५÷५ हजार, द्वितीयलाई ३÷३ हजार र तृतीयलाई २÷२ हजार नगद पुरस्कार प्रदान गरिनेछ । सबै सहभागीलाई टी–सर्ट, खाजा र जुसपानी उपलब्ध हुनेछ ।
प्रतियोगिता सञ्चालनका लागि आर्थिक स्रोत कसरी जुटाइँदैछ ?
–हामीले स्थानीय व्यापारी, संस्थागत तथा व्यक्तिगत सहयोगबाट रकम संकलन गरिरहेका छौं । अनुमानित खर्च करिब ३ लाख ५१ हजार ७ सय रुपैयाँ रहेको छ । स्थानीय तहबाट भने हालसम्म कुनै सहयोग प्राप्त भएको छैन ।
आगामी वर्षका लागि के योजना बनाउनु भएको छ ?
–यो वर्ष सफलतापूर्वक सम्पन्न गर्न सकेमा यसलाई हरेक वर्ष फाल्गुनन्द जयन्तीका अवसरमा नियमित रुपमा गर्ने योजना छ । भविष्यमा यो प्रतियोगितालाई थप व्यवस्थित बनाउने योजना रहेको छ ।























