काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाहेक अन्य सबै नेताहरू आफ्नो पार्टीमा समाहित हुने दाबी गरेका छन्। बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्ताे बताएका हुन्।
उनले अध्यक्ष ओलीले ‘हावादारी’ कुरा गर्ने गरेको बताउँदै एमालेका सबै नेताहरू नेपाली कम्युनिष्ट पार्टीमा आउने जिकिर गरे। प्रचण्डले आफ्नो पार्टीमा अहिलेसम्म १२ वटा राजनीतिक दल तथा समूह समाहित भइसकेको जानकारी दिए। उनले भने,‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ। केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्।’
गत कात्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका विभिन्न राजनीतिक दल र समूहहरूले एकीकरण गरी नेपाली कम्युनिष्ट पार्टी गठन गरेका थिए।























