उर्लाबारी । गएराति भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखिने भएको छ ।
जिल्ला अदालत, काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागित हिरासतमा राख्न अनुमति दिएको हो ।
‘अब हिरासतमा राखेर सोधपुछ र थप अनुसन्धान प्रक्रिया अघि बढ्नेछ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले भने । प्रसाईंले ७ मंसिरदेखि देशै ठप्प पारेर राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना गर्ने आन्दोलन थाल्ने बताउँदै आएका थिए ।
पछिल्लो समय उनले दूतावासहरूको नाम नै तोकेर बम प्रहार हुन सक्ने र दोष आफूलाई थुपारिदिन सक्ने भन्दै दिएको अभिव्यक्तिलाई सुरक्षा संयन्त्रले नोटिसमा लिएको थियो ।
आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समेत उनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने प्रसंग उठेको थियो । त्यसपछि बैठकले हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय गरेको थियो ।























