उर्लाबारी । मोरङको रतुवामाई नगरपालिकाले नगर अस्पताल झुर्कियामा प्रदान हुँदै आएका स्वास्थ्य सेवालाई अझ व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यले नियमित छलफल सुरु गरेको छ। नगर प्रमुख नागेश्वर प्रसाद सिंह गन्गाईको अध्यक्षतामा भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत, मेडिकल सुपरिटेन्डेन्ट, प्रशासन शाखा प्रमुख, सूचना प्रविधि अधिकृत तथा अस्पतालका स्वास्थ्यकर्मीहरू साथै अस्पताल व्यवस्थापन समिति सहभागी थिए।
बैठकमा अस्पतालको वर्तमान सेवा–प्रवाह, बिरामीको सहज पहुँच, अत्यावश्यक सेवाहरूको विस्तार, उपकरण र जनशक्ति व्यवस्थापनलगायतका विषयमा चर्चा भयो। अस्पतालमा दैनिक बढ्दो सेवा–चापलाई लक्षित गर्दै स्वास्थ्य पूर्वाधार मजबुत बनाउने, सेवा समय थप व्यवस्थित गर्ने र सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउने निर्णयहरूमा सहभागीहरूले जोड दिए।
नगर प्रमुख गन्गाईले नगरवासीलगायत आसपासका क्षेत्रका नागरिकलाई उपलब्ध गराइने स्वास्थ्य सेवा गुणस्तरीय र समयमै हुनु पर्ने बताउँदै नियमित छलफल र मूल्यांकनमार्फत अस्पताललाई आदर्श स्वास्थ्य संस्थाको रुपमा विकसित गर्ने प्रतिबद्धता व्यक्त गरे।
छलफलका निष्कर्षहरू कार्यान्वयन गर्दै नगर अस्पताल झुर्कियाले आगामी दिनमा अझ व्यवस्थित, छिटोछरितो तथा विश्वासिलो स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।























