उर्लाबारी । उर्लाबारी–५ का समाजसेवी चन्द्र तामाङले मोरङको उर्लाबारी–८ स्थित बहादुर बाबा चौधरी आधारभूत विद्यालयमा धारा जडान गरिदिनुभएको छ ।
सोमबार व्यक्तिगत लगानीमा विद्यालयका विद्यार्थीहरूले शुद्ध खानेपानी पाउँन् भन्ने उद्देश्यका साथ तामाङले करिब १८ हजार रुपैयाँ खर्च गरेर धारा जडान गरिदिनुका साथै एक थान फुटबलसमेत विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । एक विशेष कार्यक्रमका बीच उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुख तथा नेपाली कांग्रेस कोशी प्रदेश सह–महामन्त्री खड्ग फागो, उर्लाबारी सचिव दिपक भट्टराई, ध्रुवचन्द्र पराजुलीलगायतको सहभागितामा धारा जडान कार्य सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सह–महामन्त्री फागोले तामाङको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै विद्यालय तथा समुदायस्तरमा देखिएको यस्तो सहयोग भावनाले समाजलाई प्रेरणा दिने बताउनुभयो । उहाँले भन्नुभयो–‘विद्यालयमा आधारभूत सुविधा उपलब्ध गराउन स्थानीय व्यक्तिहरूले अघि सर्ने यस्तो सकारात्मक पहल नै शिक्षाक्षेत्र विकासको बलियो आधार हो । हरेक नागरिकले आफ्नो क्षमता अनुसार समाजका आवश्यकतामा साथ दिन सके सम्पूर्ण शिक्षा प्रणाली नै सुदृढ बन्छ ।’ फागोले शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत सेवामा सबै पक्षबाट सहकार्य हुनुपर्नेमा पनि जोड दिनुभएको थियो । विद्यालयले तामाङको योगदानले विद्यार्थीहरूलाई सुरक्षित र स्वच्छ खानेपानी उपयोग गर्न सहज भएको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय