उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका र पथरीशनिचरे नगरपालिकाको सिमाना भएर बग्ने सुनझोडा खोलामा आधुनिक बक्स पुल निर्माण हुने भएको छ । उर्लाबारी–२ को पर्यटकीय क्षेत्र बासेचौरी हुँदै पथरीशनीचरेलाई जोड्ने यो पुलले दुई पालिकाबीचको आवतजावत सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
उर्लाबारी–२ का वडाध्यक्ष कुमार कडेलका अनुसार, वडा कार्यालयको २५ लाख सहित नगरपालिका र संघीय सरकारको संयुक्त लगानीमा कुल १ करोड २४ लाख २५ हजार २ सय रुपैयाँमा २७.४ मिटर लामो बक्स पक्की पुल निर्माण हुन लागेको हो । उर्लाबारी नगरपालिका प्रमुख गगाप्रसाद खरेलले पुल बासेचौरी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि ठूलो सुविधाका रूपमा जोडिने बताउनुभयो । उहाँका अनुसार, पुल निर्माण सम्पन्न भएपछि बासेचौरी क्षेत्रको पर्यटन संभावनामा थप वृद्धि हुनेछ ।
निर्माण कार्य साम्लिङ बिल्डर्स एण्ड सप्लायर्स, मिक्लाजुङले सम्झौता अनुसार २०८३ असोज मसान्तभित्र पूरा गर्ने जिम्मा पाएको छ । कम्पनीले प्राविधिक समस्या नआए समयमै पुल निर्माण पूरा गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभय कुमार गुप्ताका अनुसार, ५ सेल बक्स संरचनामा बन्ने यो पुलले दैनिक आवतजावत सहज बनाउने मात्र होइन, स्थानीय किसानले उत्पादन गरेको फलफूल, तरकारी तथा अन्य कृषिजन्य सामग्री नजिकैको बजार पथरीसम्म सहजै लैजान सक्ने वातावरण निर्माण हुनेछ ।
कार्यक्रममा नगर उपप्रमुख मिनाकुमारी पौडेल, स्थानीयवासी, वडा अध्यक्ष, अन्य जनप्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि र सरोकारवाला पक्षहरूको उपस्थिति रहेको थियो । यस परियोजनाबाट दुवै नगरका बासिन्दाले दीर्घकालीन लाभ उठाउने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय