झापा, झापा जिल्लाको कमल गाउँपालिका–५ स्थित आदिवासी रंगशालामा शनिबार राष्ट्रिय परिवर्तन पार्टीको घोषणा कार्यक्रम सम्पन्न भएको छ। जेन्जी आन्दोलनबाट जन्मिएको राष्ट्रिय परिवर्तन पार्टीको औपचारिक घोषणा ऐतिहासिक रूपमा सम्पन्न भएको हो।
जेन्जी आन्दोलनका क्रममा एक खुट्टा गुमाएका अभियन्ता राजेश पार्तेलको अध्यक्षतामा पार्टी घोषणा भएको हो । उक्त पार्टी कुनै सत्ता, सुविधा वा स्वार्थ केन्द्रित समूहबाट नभई पीडा, बलिदान र लामो संघर्षबाट जन्मिएको राजनीतिक शक्ति भएको नेताहरूले बताएका छन्।
पार्टी घोषणा कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका नेताकार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
सो कार्यक्रममा आन्दोलनका क्रममा घाइते भएका योद्धा तथा शहीदका परिवारलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै पूर्व क्षेत्रका सफल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईंले देशको वर्तमान अवस्थामा जेन्जी आन्दोलन नै अन्तिम विकल्प भएको उल्लेख गर्दै त्यसको राजनीतिक अभिव्यक्तिका रूपमा राष्ट्रिय परिवर्तन पार्टी अघि आएको बताए। उनले पार्टीको बाँसुरी चुनाव चिन्हलाई साथ दिन सबैलाई आह्वान गर्दै युवाहरू, अभिभावक तथा जेन्जी आन्दोलनका सहभागीहरूलाई एकताबद्ध हुन आग्रह गरे। उनको भनाइले उपस्थित समर्थकहरूमा नयाँ ऊर्जा र आत्मविश्वास थपिएको देखिन्थ्यो।
वक्ताहरुले राष्ट्रिय परिवर्तन पार्टी कुनै सपना बेच्ने दल नभई, रगत, पसिना र आँसुले लेखिएको परिवर्तनको दस्तावेज भएको धारणा व्यक्त गरेका छन्।























