दिपेन्द्रबहादुर विश्वकर्मा
मोरङ । मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसले निर्वतमान सांसद तथा जिल्ला सभापति डिगबहादुर लिम्बू, उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुख तथा कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागो र नेतृ दिव्या बस्नेतको नाम सिफारिस गरेको छ । तर, अन्तिम उम्मेद्वार को हुने भन्ने विषयमा कांग्रेसभित्र स्पष्ट धार बन्ने क्रममा रहेको देखिन्छ ।
पार्टी स्रोतका अनुसार यस पटकको निर्वाचनमा डिगबहादुर लिम्बू ‘अन्तिम लाइन’मा देखिनुभएको छ । २०७९ कै निर्वाचनमा आफू अन्तिम पटक उम्मेद्वार बनेको सार्वजनिक रूपमा बताइसक्नुभएका लिम्बूलाई फेरि टिकट दिन नहुने धारणा पार्टीका अधिकांश कार्यकर्तामाझ बलियो बन्दै गएको छ । लामो समयदेखि अवसर एउटै व्यक्तिमा सीमित हुँदा संगठनात्मक ऊर्जा कमजोर भएको गुनासो समेत खुलेर व्यक्त हुन थालेको छ ।
अर्कोतर्फ खड्ग फागोलाई उम्मेद्वार बनाउनु पर्ने मत भने तीव्र रूपमा बढिरहेको छ । उर्लाबारी नगरपालिकाको नेतृत्व सफलतापूर्वक सम्हानुभएका फागो विकास, सुशासन र समन्वय क्षमताका कारण क्षेत्रभर लोकप्रिय मानिनुहुन्छ । नगरप्रमुखका रूपमा रहँदा सडक, खानेपानी, शिक्षा र शहरी पूर्वाधारमा देखिने गरी काम गरेको मूल्यांकन कांग्रेस कार्यकर्तामात्र होइन, आम मतदातामाझ पनि सकारात्मक छ ।
कोशी प्रदेशका सह–महामन्त्रीको हैसियतले संगठन सुदृढीकरणमा सक्रिय फागो पार्टीभित्र ‘काम गरेर देखाउने नेता’को रूपमा परिचित हुनुहुन्छ । युवा, व्यवसायी, बुद्धिजीवीदेखि ग्रामीण मतदातासम्म उहाँको पहुँच विस्तार हुँदै गएको बताइन्छ । विशेषतः पछिल्लो समय कांग्रेसले खोजिरहेको नयाँ नेतृत्व, स्पष्ट भिजन र जित सुनिश्चित गर्ने उम्मेद्वारको खाँचोलाई फागोले पूरा गर्न सक्ने कार्यकर्ताहरूको बुझाइ छ ।

पार्टीभित्रको यो धार स्पष्ट रूपमा फागोतर्फ ढल्कँदै जाँदा मोरङ क्षेत्र नं. १ मा कांग्रेसले पुस्तान्तरण र नेतृत्व नवीकरणको सन्देश दिनुपर्ने दबाब पनि बढेको छ । अन्तिम निर्णय केन्द्रीय नेतृत्वको हातमा भए पनि स्थानीय तहदेखि जिल्ला र प्रदेशस्तरसम्म फागोप्रति देखिएको समर्थनले टिकट दौडको तस्वीर बदलिँदै गएको छ । अब प्रश्न एउटै छ—नेपाली कांग्रेसले यस पटक ‘दोहो¥याउने राजनीति’ रोज्छ कि ‘जित्ने रणनीति’? मोरङ क्षेत्र नं. १ मा त्यसको उत्तर खड्ग फागोको उम्मेद्वारीसँग गाँसिँदै गएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय