विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनको लागि पुस ११ गतेभित्र उम्मेदवार सिफारिस गर्न परिपत्र गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ को राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरी नेकपाले उम्मेदवार सिफारिस गर्न तल्ला कमिटीलाई परिपत्र गरेको हो । नेकपाले अबको सम्पूर्ण ध्यान निर्वाचन र उम्मेदवार चयनमा केन्द्रित गर्ने जनाएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित परिपत्रमा उम्मेदवार बन्नका लागि योग्यता र मापदण्ड तोकिएको छ ।
नेकपाले यसपटकको निर्वाचनमा नयाँ पुस्तालाई समेट्ने विशेष रणनीति अख्तियार गरेको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्दा हरेक निर्वाचन क्षेत्रबाट कम्तिमा एक जना जेनजी अर्थात युवा र एक जना महिलासहित अधिकतम ५ जनाको नाम पठाउन भनिएको छ ।
एउटै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्न, अदालतबाट भ्रष्टाचारमा दोषी ठहरिएका, कर वा राजस्व नतिरेका र कुनै पनि प्रकारको कालोसूचीमा परेका व्यक्तिको सिफारिस नगर्न नेकपाले भनेको छ । वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन, घरेलु हिंसा वा यौन उत्पीडन जस्ता नैतिक पतन देखिने मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई पनि उम्मेदवारको दौडबाट बाहिर राखिएको छ ।
पार्टीले उम्मेदवार सिफारिससँगै निर्वाचन क्षेत्रको वस्तुगत अवस्थाको रिपोर्ट पनि मागेको छ । जसमा २०७९ को निर्वाचनमा प्राप्त मत, नयाँ उदय भएका पार्टीको अवस्था र स्थानीय तहमा अन्य दलसँगको सम्बन्ध जस्ता ९ बुँदे विस्तृत विवरण बुझाउनुपर्नेछ ।

पार्टीले उम्मेदवार छनोट गर्दा शहीद परिवार, बेपत्ता परिवार, द्वन्द्वपीडित, घाइते र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिन निर्देशन दिएको छ । संविधानले तोकेका दलित, जनजाति, मधेशी, थारू, मुस्लिम र अल्पसंख्यक क्लस्टरलाई पूर्ण रूपमा पालना गर्न भनिएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि हुने यो निर्वाचनलाई नेकपाले आफ्नो साङ्गठनिक शक्ति प्रदर्शन र पार्टी एकताको जनअनुमोदन गर्ने अवसरका रूपमा लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय