मोरङको मिक्लाजुङ गाउँपालिकाका दुई आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा तथा आर्थिक सहयोग प्रदान गरिएको छ।
जाडो मौसमका कारण बालबालिकाको स्वास्थ्य र पठनपाठनमा असर नपरोस् भन्ने उद्देश्यले उक्त मानवीय सहयोग गरिएको हो। मिक्लाजुङ–४ स्थित देवकोटा आधारभूत विद्यालयमा अध्ययनरत ३९ जना विद्यार्थीलाई न्यानो कपडासँगै ८ हजार १० रुपैयाँ नगद सहयोग प्रदान गरिएको छ। त्यस्तै मिक्लाजुङ–५ साम्लिङस्थित सरस्वती आधारभूत विद्यालयका ६२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।
नेपाली कम्युनिस्ट पार्टी मिक्लाजुङका संयोजक उमेश चाम्लिङ राईको पहलमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा संयोजक राईले शिक्षा र बालबालिकाको भविष्यप्रति राज्य, समाज र राजनीतिक नेतृत्व संवेदनशील हुनुपर्ने बताए। उनले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गर्नु केवल दायित्व मात्र नभई मानवीय कर्तव्यसमेत भएको उल्लेख गर्दै यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
विद्यालय प्रशासनले जाडो समयमा न्यानो कपडा पाउँदा विद्यार्थीहरू उत्साहित भएको बताउँदै सहयोगप्रति आभार व्यक्त गरेका छन् । स्थानीय समुदायले पनि यस किसिमको सहयोगले विद्यार्थीको मनोबल बढ्ने र पठनपाठनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।























