उर्लाबारी, कोशी प्रदेश सरकारमा मोरङको उर्लाबारीबाट प्रतिनिधित्व गर्ने दुई जना नेता राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ। भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नेपाली कांग्रेसकी नेतृ शोभा चेम्जोङ पालुङ्वा तथा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नेकपा एमालेका नेता उमाकान्त गौतम नियुक्त हुनुभएको हो।
नवनियुक्त दुवै राज्यमन्त्री उर्लाबारी नगरपालिका निवासी हुनुहुन्छ। कांग्रेस नेतृ पालुङ्वा उर्लाबारी–५ की स्थायी बासिन्दा हुनुहुन्छ भने एमाले नेता गौतम उर्लाबारी–८ का बासिन्दा हुनुहुन्छ। एउटै नगरपालिकाबाट फरक–फरक राजनीतिक दलका दुई जना नेता एकैसाथ कोशी प्रदेश सरकारको कार्यकारी भूमिकामा पुग्नुले उर्लाबारीको राजनीतिक पहिचान र प्रभाव थप सशक्त बनेको स्थानीयवासीहरूको बुझाइ छ।
शोभा चेम्जोङ पालुङ्वा लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण, महिला सशक्तीकरण तथा सामाजिक अभियानमा सक्रिय रहँदै आउनुभएको नेतृ हुनुहुन्छ। उहाँलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइनु प्रदेशमा सडक, पुल, भवन, खानेपानी तथा अन्य विकास पूर्वाधारलाई गति दिन महत्वपूर्ण मानिएको छ। यस क्षेत्रमा उर्लाबारीसहित मोरङ र कोशी प्रदेशका विकास आयोजना प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, उमाकान्त गौतम नेकपा एमालेका अनुभवी तथा संगठनात्मक रूपमा सक्रिय नेता मानिनुहुन्छ। उहाँलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीको जिम्मेवारी दिइनुले प्रदेशमा शान्ति सुरक्षा, सुशासन, कानुनी व्यवस्था तथा प्रशासनिक सुधारमा प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ।
उर्लाबारीबाट दुई जना नेता कोशी प्रदेश सरकारमा राज्यमन्त्री नियुक्त भएपछि नगरवासी, राजनीतिक दलका कार्यकर्ता तथा नागरिक समाजले खुसी व्यक्त गरेका छन्। स्थानीयस्तरमा विकास, सुरक्षा र सेवा प्रवाहमा प्रदेश सरकारको पहुँच अझ मजबुत हुने तथा उर्लाबारीका मुद्दा प्रदेशस्तरमा प्रभावकारी ढंगले उठ्ने अपेक्षा गरिएको छ।
नवनियुक्त राज्यमन्त्रीद्वयले प्रदेशको समग्र विकास, जनताको हित, सुशासन र सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। कोशी प्रदेश सरकारमा उर्लाबारीको उपस्थिति बलियो बनेसँगै अब विकास र सेवामा ठोस उपलब्धि देखिने आशा स्थानीयवासीहरूले गरेका छन्।























