उर्लाबारी । मोरङ क्षेत्र नं. १ का गाउँ–बस्ती, खेत–खलिहान र उकाली–ओरालीसँग नजिकबाट परिचित नाम हो— कुलप्रसाद साम्बा (कुशल) । सत्ता र पदभन्दा माथि जनताको पीडा, आवश्यकता र आशालाई राख्ने उहाँ आज फेरि मोरङ–१ को भविष्य बदल्ने अठोटसहित जनतामाझ उभिनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका नेता साम्बा २०७४ सालमा कोशी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो । त्यसपछि उहाँले “अब केही हुन्छ” भन्ने आशा मोरङ–१ का जनतामा जगाउनुभयो । पाँच वर्षको अवधिमा यस क्षेत्रमा २ अर्ब रुपैयाँभन्दा बढीको बजेट भित्र्याउँदै सडक, स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा परिवर्तनको आधार तयार गर्नुभयो । यही कारण जनताले उहाँलाई आज पनि काम गर्ने नेता भनेर सम्झन्छन् ।
२०७९ सालको निर्वाचनमा उहाँले पराजय भोग्नुभयो । तर, त्यो हार उहाँको यात्राको अन्त्य बनेन । बरु, जनताको बीचमै बसेर, उनीहरूका दुःख–सुखमा साथ दिँदै, निरन्तर सेवा गर्दै उहाँले देखाउनुभयो— राजनीति पदका लागि होइन, जनताका लागि हो । हारपछि पनि नथाक्ने, नभाग्ने र नआत्तिने नेताको रूपमा उहाँ अझ परिपक्व बन्नुभयो ।
मोरङलाई सुगम जिल्ला मानिए पनि मोरङ क्षेत्र नं. १ आज पनि ‘मोरङको कर्णाली’ जस्तै पीडामा छ । कच्चा सडक, अधुरा विकास, रोजगारीको अभाव र युवाको पलायन यहाँका पुराना समस्या हुन् । यही पीडालाई नजिकबाट बुझ्नुभएका साम्बा भन्नुहुन्छ, ‘अब परिवर्तन भाषणले होइन, कामले देखिनुपर्छ ।’
यसपटक प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेद्वार बनेर उहाँ यही परिवर्तनको जिम्मा आफ्नै काँधमा लिन चाहानुहुन्छ । जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी विकास गर्ने, गाउँ–गाउँमा राज्यको पहुँच पु¥याउने र मोरङ–१ लाई पछाडि होइन, अगाडि उभ्याउने उहाँको स्पष्ट संकल्प छ । यस निर्वाचनमा मोरङ क्षेत्र नं. १ का सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई उहाँले तारा चिन्हमा मतदान गरी साथ दिन अपिल गर्नुभएको छ । ‘तपाईंहरूले दिएको विश्वास मेरो शक्ति हो । त्यो विश्वास म कहिल्यै टुट्न दिने छैन,’ भन्ने उहाँको प्रणले धेरैको मन छोएको छ । आज मोरङ–१ ले नेता मात्र होइन, आफ्नै पीडा बुझ्ने प्रतिनिधि खोजिरहेको छ । र, यही आशा र विश्वासको केन्द्रमा उभिनुभएको छ, साम्बा । ‘कागजमा होइन, जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्ने विकास मेरो लक्ष्य हो,’ साम्बाले मोरङ क्षेत्र नं. १ को दीर्घकालीन विकासका लागि स्पष्ट योजना अघि सार्नुभएको छ । रोजगारी सिर्जना, आधारभूत पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार उहाँका प्राथमिकतामा छन् ।























